जनताको लगानीमा खानी सञ्चालन हुने

पाल्पा, पुस १२
प्रदेशसभा सांसद तथा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तुलाराम घर्ती (वसन्त)ले प्राकृतिक सोत र साधनको उचित प्रयोग गर्ने बताउनुभएको छ ।
प्राकृतिक सोत र साधनको उचित प्रयोगसम्बन्धी प्रदेशसभा तथा प्रदेश सरकारले नीति नियम बनाउने र जनताको लगानीमा खानी सञ्चालन गर्ने योजना बनाउने उहाँले बताउनुभयो ।
घर्तीले पाल्पामा प्रसस्त रहेका चुनढुंगा खानीलाई व्यवस्थित तरिकाले परिचालन गर्ने र दुरुपयोग हुन नदिने बताउनुभयो । यस क्षेत्रमा प्रसस्त चुनढुंगा र केही फलाम खानी रहेकाले त्यसको सहीरुपमा सदुपयोग गर्न आवश्यक रहेको छ । उहाँले पाँच वर्षमा ५० प्रतिशत बेरोजगारी समस्या हल गर्ने गरिबमुखी कार्यक्रम ल्याउनेसमेत बताउनुभयो ।
प्रदेश क्षेत्रअन्तर्गत एक वडादेखि अर्को वडा कार्यालयसम्म जाने सडक विस्तार गरी ग्राभेल गर्ने काम हुनेछ । पाल्पा निर्वाचन क्षेत्र २ (ख) प्रदेश क्षेत्रका वडावडामा बाह्रै महिना यातायात सञ्चालनमा समस्या रहेको छ । प्रदेश क्षेत्रअन्तर्गत रहेको सिद्धबाबाको जोखिम कम गर्ने काम पहिलो प्राथमिकताको हुने उहाँले बताउनुभयो ।
विद्युत्का पोल कुहिएकाले काठका पोल विस्थापित गरी फलामका पोल राख्न बताउनुभयो । काठका पोल कुहिएकाले जतिबेला पनि विद्युत् आपूर्तिमा समस्या हुने भएकाले काठका पोल विस्थापित गर्ने योजनामा रहेको घर्तीले बताउनुभयो ।
खानेपानीको मुहानको अभावमा लेकका बस्तीमा लिफ्टमार्फत खानेपानीको सुविधान प्रदान गर्न आफू लागिपर्ने बताउनुभयो । पाल्पामा खानेपानीको समस्या रहेकाले लेक बस्तीमा खानेपानीको समस्या समधानमा ध्यान दिने बताउनुभयो । जनताका आधारभूत समस्या समधानमा केन्द्रित हुदै अघि बढ्ने घर्तीको भनाइ छ
प्रकाशित मिति: १२ पुस २०७४, बुधबार