चुनाव जित्न कति खर्च गरे प्रचण्डले ? यस्तो छ बिवरण



चितवन, माघ ३

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा नौ लाख ९४ हजार ५४२ खर्च भएको विवरण पेश गर्नुभएको छ ।

उहाँले पार्टीका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’मार्फत चुनावी खर्च विवरण पेश गर्नुभएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिनुभयो । अध्यक्ष दाहाल चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवम् वनमन्त्री विक्रम पाण्डेको चुनावी खर्च भने नौ लाख ३९ हजार ९४० पेश भएको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा तीन निर्वाचन क्षेत्रका कूल ९५ जनाको उम्मेदवारी परेकामा अहिलेसम्म ६७ जनाले निर्वाचन खर्च विवरण पेश गरेको ढकालले जानकारी दिनुभयो । खर्च विवरण पेश नगर्नेमा अन्य साना दलका उम्मेदवार छन् ।

प्रतिनिधिसभा निर्वाचनमा एकजना उम्मेदवारले बढीमा २५ लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने नियम छ । चितवन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले १३ लाख ५७ हजार ६७३  खर्च भएको भन्दै विवरण पेश गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस नेता राजेन्द्र बुर्लाकोटीको चुनावी खर्च १६ लाख २९ हजार १७० छ ।

चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेलको चुनावी खर्च १४ लाख ३९ हजार ८०० छ भने निकटतम प्रतिद्वन्द्वी शिक्षा राज्यमन्त्री एवं नेपाली कांँग्रेसका नेता शेषनाथ अधिकारीले १३ लाख ९३ हजारको विवरण बुझाउनुभएको कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News