कांग्रेसमा संसदीय दलको नेतामा सर्वसम्मत प्रयास, कसको छ सम्भावना ?


 


काठमाडौं, फागुन १८
कांग्रेसले फागुन २१ मा संसदीय दलको नेता चयन गर्ने घोषणा गरेसँगै नेताहरूले सर्वसम्मतिको प्रयास थालेका छन्।

सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरिसकेको भए पनि महामन्त्री शशांक कोइरालाको नाममा सहमति जुटाउने प्रयास भएको हो। आजको अन्नपूर्णमा खबर छ ।

नयाँ व्यक्तिलाई अघि सार्दा पार्टीको तल्लो तहसम्मै सकारात्मक सन्देश जाने भन्दै डा.नारायण खड्का, प्रदीप गिरीलगायत नेताहरूले सर्वसम्मत नेता चयनका लागि सक्रियता बढाएका छन्।

सोमबार वरिष्ठ नेता रामचन्द्र पौडैल र बुधबार महामन्त्री शशांक कोइरालाले नवनिर्वाचित सांसदलाई शुभकामना दिन आफ्नो निवासमा आयोजित चियापान र लन्च पनि दलको नेता चयनकै सिलसिलामा भएको भएको नेताहरूको आकलन छ।

पौडैल निवासमा आयोजित चियापानमा सहभागी नभएका सभापति देउवासहित नेता बुधबार महामन्त्री कोइराला निवास पुग्नुलाई पनि नेताहरूले अर्थपूर्ण रूपमा हेरेका छन्। यद्यपि देउवाले कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै दलको नेता आफै हुने दाबी गरेका थिए।

महामन्त्री कोइरालाले यसअघि नै सभापति देउवाले साथ दिने विश्वास व्यक्त गर्दै सर्वसम्मत तरिकाले मात्रै दलको नेता बन्ने बताइसकेका छन्। अर्का नेता प्रकाशमान सिंहले पनि अन्य नेतामा सर्वसम्मति भए समर्थन गर्ने तर चुनाव हुने अवस्थामा आफूले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

संघीय संसद्मा ७६ सिट जितेको कांग्रेसमा सभापति देउवाको पक्षमा प्रस्ट बहुमत रहेको नेताहरूले बताएका छन्। प्रतिनिधिसभातर्फ ६३ मध्ये ४३ सांसद आफ्नो पक्षमा रहेको दाबी देउवा पक्षको छ। देउवापक्षीय नेताहरूका अनुसार पौडल पक्षसँग १७ र सिटौला पक्षसँग तीन सांसद छन्।

राष्ट्रियसभामा निर्वाचित १३ जना नै सांसद सभापतिको पक्षमा रहेको दाबी देउवा खेमाका नेताहरूले गरेका छन्। कांग्रेससम्बद्ध स्रोतले निर्वाचन नै हुने भए देउवा र सिंहको मतभारमा सासंदहरू विनोद चौधरी, अभिषेकप्रताप साह, अमरेश सिंह, गगन थापा, भीमसेनदास प्रधान, उमाकान्त चौधरीलगायतको मत संख्यात्मक हिसाबले निर्णायक हुन सक्ने दाबी गरेको छ।

 

प्रकाशित मिति: १८ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्