फेरि हराएर काठमाडौंबाट अर्का विद्यार्थी


 


काठमाडौं, फागुन १९
ललितपुरको फूलचोकीमा हिउँ खेल्न गएका विद्यार्थी जोन तामाङ हराएको घटना सेलाउन नपाउँदै शैक्षिक भ्रमणमा गएका ललितपुरकै अर्का एक विद्यार्थी शुक्रबार हराएका छन् ।

ललितपुरको बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा आधारभूत विद्यालयमा कक्षा पाँचमा पढ्ने बुद्धबहादुर थिङ काठमाडौंको स्वयम्भूबाट हराएका हुन् । अन्नपूर्णमा खबर छ ।

छाउनीस्थित संग्रहालय अवलोकन सकेर स्वयम्भू भ्रमणमा गई फर्कने क्रममा थिङ हराएको विद्यालयका प्रधानाध्यापक सीताराम चौरेलले बताए । उनका अनुसार विद्यालयले कक्षा चारदेखि आठसम्म अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहित ५९ जनालाई स्वयम्भू भ्रमणमा लगेको थियो । उक्त विद्यालयमा कक्षा आठसम्म मात्र पढाइ हुन्छ ।

‘सुरुमा छाउनी संग्रहालयको भ्रमण सक्यौं । त्यसपछि स्वयम्भू गयौं । त्यहाँको पनि भ्रमण सकेर बस चढ्ने बेला विद्यार्थी गणना गर्दा थिङलाई देखेनौं’, प्रधानाध्यापक चौरेलले भने, ‘सँगै घुम्न गएका अरू विद्यार्थीसँग कुरा गर्दा स्वयम्भूको टापुमा रहेको पानीको तालमा सिक्का फाल्ने ठाउँसम्म उनी साथैमा रहेको जानकारी पायौं तर अलि तल आएर बस चढ्ने बेला देखेनौं ।’

स्वयम्भूको टुप्पोबाट तल ओर्लनका लागि धेरै बाटो रहेकाले बाटो बिराएर थिङ हराएको हुन सक्ने विद्यालयले अनुमान गरेको छ । थिङ हराउनेबित्तिकै शिक्षकहरूले बालबालिका खोजतलास केन्द्र र प्रहरीलाई खबर गरेका थिए ।

बच्चा हराएको दिउँसो चार बजेतिर थाहा पाएपछि उनीहरूले प्रहरीलाई साढे चार बजेतिर खबर गरेका थिए । केही बेर आफैँ खोजबिनमा लाग्दा पनि विद्यार्थी फेला नपरेपछि उनीहरूले अभिभावकलाई पनि खबर गरिसकेका छन् ।

शुक्रबार रातिसम्म प्रधानाध्यापकसहित अन्य चार जना शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितको टोलीले खोजी गरिरहेको छ । विद्यार्थीबारे केही जानकारी नपाएपछि उनीहरूले ज्योतिषीलाई समेत हेराएका थिए । ज्यो‘तिषीले स्वयम्भूकै दक्षिणपूर्वको जंगलतिर बच्चा रहेको हुन सक्ने बताएका छन् ।

 

प्रकाशित मिति: १९ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्