सहमतिबाट देउवा नै दलको नेताः सिंह किन हटे पछि ?


 


काठमाडौं, फागुन २०

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई नै सर्वसम्मत बनाउने तयारी सुरु भएको छ ।

दलको नेताका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंहले समेत दाबी गरिरहेका बेला उनलाई उपनेतामा व्यवस्थापन गर्नेगरी देउवा पक्षीय नेताहरू सभापतिलाई नै सहमतिबाटै नेता बनाउनेगरी तयारीमा लागेका हुन् । नयाँ पत्रिकामा खबर छ ।

शनिबार पूर्वउपसभापति गोपालमान श्रेष्ठ र नेता रमेश लेखक दलको नेतामा देउवालाई नै सहमति गरेर उपनेता पौडेल पक्षमा दिनेगरी सहमति जुटाउन भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटार पुगेका हुन् ।

उनीहरूले नेता पौडेलसँग पार्टीले संकटको सामना गरिरहेका बखत एकताको जरुरी रहेको र एकताको सन्देश दिनका लागिसमेत सहमतिबाटै दलको नेता चुन्नुपर्ने भन्दै उपनेता सिंहलाई बनाउनेगरी मनाउन आग्रह गरेका छन् । छलफलमा सहभागी नेता श्रेष्ठले पार्टीले संकटको सामना गरिरहेकाले आफूले सहमति गरेरै अघि बढ्न नेता पौडेलसँग प्रस्ताव गरेको बताए ।

यस्तै, नेता लेखकले समेत दलको नेताका लागि सहमतिको विकल्प नभएको भन्दै सहमति गरेरै अघि बढ्ने विषयमा कुराकानी भएको बताए ।

दुवै नेताले वरिष्ठ नेता पौडेलसँगको छलफलमा निर्वाचनमार्फत पराजय भोगेका बेला आन्तरिक रूपमा नै हारजितको कुरा हुँदा राम्रो सन्देश नजाने र एकताका लागि पनि सहमतिको पहल गर्नुपर्नेमा जोड दिएको जानकारी दिएका हुन् ।

दलको नेताका लागि भोलि (सोमबार) सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन हुने कार्यतालिका छ । त्यसका लागि आज (आइतबार) साँझ उम्मेदवारी दर्ता हुँदै छ । दलको नेताका लागि प्रतिनिधिसभामा निर्वाचित प्रत्यक्ष २३ र समानुपातिक ४० गरी ६३ सांसदले मतदान गर्न पाउनेछन् ।

प्रकाशित मिति: २० फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्