छोरीको बलात्कार गरि हत्या गर्नेलाई छुटाउन आमा नै सक्रिय, प्रहरी चकित


 


राजविराज, फागुन २६
काकाकी छोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले थालेको अनुसन्धानमा पीडित परिवारबाटै असहयोग भएको छ ।

बलात्कारपछि हत्या गरिएकी नाबालिकाकी आमा रमिलादेवीले अभियुक्त छुटाउन उच्च अदालत राजविराजमा बन्दीप्रत्यक्षीकरणको रिट हालेकी हुन् । कान्तिपुरमा खबर छ ।

‘आफ्नी छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै अगाडि आएपछि हामी चकित भयौं,’ अनुसन्धानमा संलग्न सप्तरीका एक प्रहरी अधिकृतले भने । बलात्कार र हत्या गरेको आरोपमा पक्राउ गरिएका राजदेवलाई छुटाउन रमिलाले इलाका प्रहरी कार्यालय कल्याणपुर, इलाका इन्चार्ज र जिल्ला अदालतसमेतलाई विपक्षी बनाई मुद्दा दायर गरेकी थिइन् ।

मुद्दामा उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीश मोहनबहादुर कार्कीले बन्दी र लिखित जवाफसहित बाटोको म्यादबाहेक ४८ घण्टाभित्र उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेका थिए ।

विपक्षी प्रहरीले सरकारी वकिल कार्यालयमार्फत जवाफ पेस गरेपछि बसेको अदालतको इजलासले पक्राउ परेका राजदेव मण्डललाई जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा थुनुवा पुर्जी दिई राखिएको, जिल्ला अदालतबाट म्याद थप गरिएको र अनुसन्धानका लागि मण्डललाई न्यायिक हिरासतमा राखिएको देखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने अवस्था नरहेको आदेश दिएको थियो ।

सप्तरीको खडग नगरपालिका–९ का १८ वर्षीय राजदेव मण्डललाई आफ्नै काकाकी ११ वर्षीया छोरीको माघ २५ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो । ‘घटनाको गहिरो अनुसन्धान सुरु गरेका छौं,’ जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले भने, ‘पीडित परिवारकै असहयोगका कारण अनुसन्धानमा केही कठिनाइ आएको हो । तर अदालतको आदेशपछि दोषीलाई कानुनी दायरामा ल्याउने गरी अनुसन्धान जारी छ ।’

प्रकाशित मिति: २६ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्