अाजको राशिफल


 


अाज मिति वि.सं. २०७२ साल भदौ २० गते। आइतबार। इश्वी सन् २०१५ सेप्टेम्बर ६ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलागा। तपाईको अाजको राशिफल हेर्नुहोस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

काममा लगानी बढाउने समय छ। प्रयत्न गर्दा लामो यात्रा हुन सक्छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ। बनिसकेको कामबाट हात झिक्नुपर्ने स्थिति आउन सक्छ। होसियारीसाथ काम लिनुपर्ने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आजको दिन उत्साहजनक रहनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन समेत लाभ हुन सक्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। श्रमको उचित मूल्यांंकन हुनेछ। दाम, नाम, इनाम हात पार्ने बेला छ। पढाइलेखाइमा पनि राम्रै प्रगति हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन्। शासकवर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोला। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा पनि कमै फाइदा हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्ला। सहयोगीहरूले साथ दिए पनि उद्देश्य पूरा नहुन सक्छ। आशा देखाउनेहरूले झुक्याउनेछन्। चुनौतीपूर्ण दायित्व लिनाले न्यून सफलता मिल्नेछ। स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। लक्ष्य पूरा नभए पनि आंशिक फाइदा भने अवश्यै हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको मौका छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। नगरेका गल्तीको सजाय भोग्नुपर्ला। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। ठगीमा परिने समय भएकाले आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा पनि समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोलाा। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

काममा रोकावट र कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले काममा लाभ मिल्नेछ।

प्रकाशित मिति: २० भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्