प्रधानमन्त्रीको आवास शरणार्थीलाई


 


एजेन्सी फिनल्याण्ड, भदौ २० filand pm

फिनल्याण्डका प्रधानमन्त्री जुहा सिफिलाले पनि पश्चिमी युरोपमा शरणार्थी चाप बढ्न थालेपछि आफ्नो व्यक्तिगत घरलाई शरणार्थी आवासका लागि प्रदान गर्ने भएका छन् । सिरियामा चलिरहेको गृहयुद्धमा अभिभावक गुमाएका र विस्थापित भएका बालबालिकाका लागि उनले आफ्नो निजी घर प्रदान गरेका हुन् ।

सञ्चारमाध्यमहरुसँग उनले भनेका छन्, ‘हामी सबैले ऐना हेर्नु पर्छ र हामीले कसरी शरणार्थीलाई सहयोग गर्न सक्छौं भनेर आफूलाई सोध्नु पर्छ ।’ आफ्नो घर अहिले बस्नका निम्ति प्रयोग नभएका कारण शरणार्थीले प्रयोग गरुन् भनेर उक्त कदम लिएको उनले बताए।

यसअघि उरुग्वेका पूर्वराष्ट्रपति जोस मुजिकाले आफ्नो आवास शरणार्थी बालबालिकाका निम्ति प्रदान गरेका थिए । मुजिका संसार कै गरिब राष्ट्रपति भनेर चिनिन्थे ।

राष्ट्रपति छँदा पनि उनी साधारण चप्पल र सस्तो गाडी प्रयोग गर्थे। धेरैले उनलाई प्रेरणादायक राजनीतिज्ञका रुपमा लिन्छन् । उनले प्राप्त गर्ने मासिक १२ हजार डलरको तलब/भत्तालाई उनले सामाजिक कल्याणमा काम गर्ने संस्थालाई दान दिन्थे भने आफू चाहीँ एक-कोठे सयन कक्ष भएको घरमा बस्ने गर्थे ।

प्रकाशित मिति: २० भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्