अमेरिका–इरान तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च



एजेन्सी । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार एक महिनायताकै उच्च विन्दुमा पुगेको छ।

मध्यपूर्वमा युद्ध चर्कदा विश्वको समुद्री तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने हर्मुज जलसन्धिमा अवरोध आउन सक्ने आशंकाले तेलको मूल्यमा दबाब परेको हो।

गत सातादेखि चर्किएको तनावबीच अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट र अमेरिकी मापदण्ड वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य चार प्रतिशतभन्दा बढीले बढेको थियो।

सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९१ अमेरिकी डलर नाघ्दै जुन ११ यताकै उच्च स्तरमा पुगेको छ। अमेरिकाले इरानी सैन्य लक्ष्यमा थप हवाई आक्रमण गरेपछि र त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य सम्पत्तिलाई निशाना बनाएपछि बजारमा तनाव झनै बढेको हो।

यसअघि अमेरिका–इरानबीचको सम्भावित सहमतिले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उल्लेख्य गिरावट ल्याएको थियो।

होर्मुज जलडमरूमध्य आसपासको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ। अमेरिका र इरानबीच भएको अन्तरिम सहमतिअनुसार विश्वको महत्वपूर्ण तेल तथा प्राकृतिक ग्यास आपूर्ति मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा जहाजहरूको नियमित आवतजावत पुनः सञ्चालन गर्ने सहमति भएको थियो ।

उक्त सहमतिअनुसार स्ट्रेट अफ हर्मुजलाई सुरक्षित रूपमा सञ्चालनमा राख्दै थप ६० दिन कूटनीतिक वार्ता अघि बढाउने लक्ष्य राखिएको थियो ।

तर उक्त क्षेत्रमा केहीदिन यता बढ्दो सैन्य गतिविधिले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप चिन्ता बढाएको छ।

अमेरिकाले लगातार हिजो मात्रै इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ ।

अलजजिराले जनाएअनुसार अमेरिकी सेन्टकमले नयाँ हवाई आक्रमणको घोषणा गरेको केही समयमै इरानका दुई प्रमुख बन्दरगाहसहित पाँचवटा सहरमा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन्। यद्यपि, आक्रमणबाट भएको क्षतिको आधिकारिक विवरण सार्वजनिक भएको छैन।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त हवाई हमला इरानका तत्कालीन सर्वोच्च नेता खामेनी मारिएपछि दुवै देशहरुबीच युद्ध हुँदै आएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्