सुन व्यवसायी साजन हत्यामा संलग्न थप दुईजना पक्राउ


 


 

 

 

 

 

 

 

 

 

 

बैशाख,४ झापा।बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिर्तामोड ५ निवासी   मामा भान्जा भनिने सुरज चौधरी र बिर्तामोड–३ का २२ वर्षीय राहुल भनिने राजेश साह रहेका छन् ।उनीहरुलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत झापामा सोमबार म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसअघि सुन व्यवसायी मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिर्तामोड–३ सैनिकमोड बस्ने २९ वर्षीय पारसकुमार देव, बिर्तामोड कै  दीपेश पौडेल र  प्रकाश भन्ने चिरञ्जीवी ओलीलाई पक्राउ गरेको थियो ।मुखियालाई व्यावसायिक रिसइबीका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।

बिर्तामोडको गोर्खा डिपार्टमेन्टल स्टोरनजिकै रहेको देवा ज्वेलर्सका सञ्चालक साजन फागुन २० गतेदेखि एकाएक बेपत्ता थिए ।बेपत्ता भएको पछी नौ दिनपछि साजनको शव जुटको बोराभित्र मेची राजमार्गअन्तर्गत इलामको लसुने–अर्यालचोक सडकखण्डको जमुनेडाँडाको सडक बाट करीब २५  फिट तल भेटिएको थियो ।

 

 

 

प्रकाशित मिति: ४ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्