कागबाट उपत्यकाभर बर्डफ्लु फैलिएको पुष्टि
काठमाडौँ, १४ असार । कागमा बर्डफ्लु देखिएपछि काठमाडौँ उपत्यकाभर उक्त रोग फैलिएको पशु सेवा विभागले जनाएको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालले कागमा बर्डफ्लु पुष्टि भएकाले उपत्यकाका विभिन्न स्थानमा सङ्क्रमण फैलिएको बताए।
कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रण गर्न सकिने भए पनि कागलाई नियन्त्रणमा लिन कठिन हुने उहाँको भनाइ छ। सङ्क्रमित कागले एक स्थानबाट अर्को स्थानमा उडेर रोग फैलाउने गरेको र सदर चिडियाखानासहित विभिन्न क्षेत्रमा कागकै माध्यमबाट सङ्क्रमण सरेको बताए।
डा. दाहालका अनुसार कागमा देखिएको सङ्क्रमण २१ दिनसम्म सक्रिय रहने भएकाले यस अवधिमा धेरै ठाउँमा रोग फैलिन सक्छ। मरेका काग र तिनको दिसाबाट पनि बर्डफ्लु सर्ने जोखिम रहने उहाँले बताए।
हाल काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लामा बर्डफ्लु देखिएको छ। देशभर ११ जिल्लाका १०० स्थानमा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको विभागले जनाएको छ।
उहाँका अनुसार उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनोहरा बाहेक अधिकांश स्थानमा बर्डफ्लु नियन्त्रणमा आएको छ। बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको सङ्क्रामक रोग भएकाले विशेष सावधानी अपनाउन उहाँले आग्रह गरे।
विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर प्रभावित क्षेत्रमा नियन्त्रण अभियान सञ्चालन गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १४ असार २०८३, आइतबार












