धार्मिक पर्यटकीय नगर बनाउने
मोरङ, वैशाख २९
मोरङको पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राईले नगर अन्तर्गत पथरी उत्तरको विभिन्न धार्मिक मठ मन्दिर एवम् साकेला थानस्थल क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकासका लागि पहल गरिने वताउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उहाँले किरात राई यायोक्खा नगर समितिले उभौलीका अवसरमा आज आयोजना गरेको साकेला सिली प्रतियोगिताको समापनका अवसरमा बोल्दै सो कुरा बताउनु भएको हो ।
भुल्के जापलादेवी मन्दिर सहितका विभिन्न जात जातिका मन्दिर, गुम्वा, धिमालग्रामथान, सालेका थान सहितका धार्मिक एवम् सांस्कृतिक सम्पदाहरु एकै ठाउँमा रहेकाले त्यसलाई धार्मिक पर्यटकीयस्थलका रुपमा प्रवद्र्धन गर्न सकिने उहाँको धारणा छ । मोरङ र सुनसरीका गरी ९ वटा समूहबीच भएको प्रतिष्पर्धामा इटहरी २० तरहरा प्रथम, बेलवारी ११ लक्ष्मीमार्ग द्धितीय, लेटाङ ३ स्थित किर्तिमान तृतीय र उर्लावारीले सान्त्वना स्वरुप झ्याम्टा, नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ ।
कार्यक्रममा, नगर प्रमुख राईका साथै रतुवामाई नगरका प्रमुुख रविन राई, यायोक्खाका केन्द्रीय उपमहासचिव तिलक याम्फु राई, जिल्ला अध्यक्ष नविन राई सहितले पुरस्कार वितरण गर्नुभएको छ । अन्नवाली सप्रियोस् र प्राणिजगतलाई शान्ति मिलोस् भन्ने कामनाका साथ वैशाखे पूर्णिमाबाट सुरु गरिने जिल्लाको साकेलाको सामूहिक सिली प्रस्तुति वैशाख ३१ गते कानेपोखरीमा समापन हुँदैछ ।
प्रकाशित मिति: २९ बैशाख २०७५, शनिबार
















