संविधान संशोधनको ग्यारेन्टी भएमा सरकारमा सहभागी : अध्यक्ष यादव


 


विराटनगर, जेठ ३
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने ग्यारन्टी भएमा फोरम नेपाल सरकारमा सहभागी हुने बताउनु भएको छ ।

विराटनगरमा सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन, सरकारमा पार्टीको भूमिका तथा संघीयता कार्यान्वयन जस्ता मुद्दा सम्बोधन भएमा मात्र सरकारमा सहभागी हुने स्पष्ट पार्नुभयो ।

संविधानलाई मधेशी, आदिवासी जनजाति सबैको सर्वस्वीकार्य र अपनत्व कायम गर्न संविधान संशोधन आवश्यक रहेको बताउँदै उहाँले ‘पार्टी फुट्नुभन्दा जुट्नु’ राम्रो हुने भएकाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकतालाई आफूले सकारात्मक रुपमा लिने जानकारी दिनुभयो ।
नीति र सिद्धान्तका आधारमा हुने पार्टी एकताले पार्टी दिगो एवम् लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गर्दै नेता यादवले प्रदेश नं २ का मुख्य मन्त्रीको अभिव्यक्तिलाई लिएर विवाद गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो ।

फरक प्रसंगमा कुनै पनि संसद्लाई आरोप लाग्नासाथ निलम्बन गर्न नहुने बताउँदै उहाँले गम्भीर आरोप नलागेसम्म वा अदालतले अपराध प्रमाणित नगरेसम्म निलम्बन कानूनको दुरुपयोग हुने बताउनुभयो । रासस

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्