फार्मासिस्टबिनै औषधि बिक्री गर्ने दुई औषधि पसल सिल
घोराही, १५ असार। घोराहीमा फार्मासिस्ट नराखी औषधि बिक्री गर्ने दुई वटा औषधि पसल कारबाहीमा परेका छन्।
औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जले घोराहीमा गरेको अनुगमनका क्रममा फार्मासिस्टको अनुपस्थितिमा औषधि बिक्री गरेको पाइएपछि दुई वटा औषधि पसल सिल गरिएको हो।
असार १३ गते जिल्ला प्रशासन कार्यालय दाङसँगको समन्वयमा गरिएको अनुगमनका क्रममा घोराही उपमहानगरपालिका–१५, न्यूरोडस्थित पल्लवी औषधालय र भरतपुरस्थित शाई कुमारी फार्मेसी सिल गरिएको हो।
औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जकी प्रमुख एवं वरिष्ठ औषधि व्यवस्थापक निनु श्रेष्ठले फार्मासिस्ट नराखी औषधि बिक्री गरेको पाइएकाले दुवै पसल सिल गरिएको बताइन्।
उनका अनुसार घोराहीका सात वटा औषधि पसलको अनुगमन गर्दा दुई वटा पसलमा फार्मासिस्टको अनुपस्थितिमा औषधि बिक्री भइरहेको भेटिएको थियो।
अनुगमनका क्रममा आवश्यक प्रक्रिया पूरा नगरेका अन्य पसललाई सचेत गराइएको छ। सिल गरिएका औषधि पसललाई थप कारबाहीका लागि विभागमा सिफारिस गर्ने तयारी गरिएको श्रेष्ठले बताइन्।
उनले प्रचलित कानुनी व्यवस्थाअनुसार फार्मासिस्ट अनिवार्य रूपमा राखेर मात्र औषधि पसल सञ्चालन गर्नुपर्ने भए पनि त्यसको उल्लङ्घन भएकाले कारबाही गरिएको बताइन्।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार












