गाउँघर क्लिनिकको भवन उद्घाटन


 


मोरङ,जेठ ६
मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आज उर्लाबारी–९ आमबारीमा रहेको नवनिर्मित गाउँघर क्लिनिकको भवन उद्घाटन गर्नुभएको छ । मेयर फागोले एक कार्यक्रमका बीच गाउँघर क्लिनिकको दुई कोठे पक्की भवनको उद्घाटन गर्नुभएको हो ।

त्यस अवसरमा मेयर फागोले स्वास्थ्य सेवा–सुविधा लिनपाउनु प्रत्येक नागरिकको अधिकार भएको बताउनुभयो । ८५ प्रतिशत जनता अझैपनि गुणस्तर स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै फागोले हरेक सर्वसाधारणको स्वास्थ्य सेवा–सुविधामा पहूँच पुगोस् भन्ने उद्देश्यले गाउँघर क्लिनिक सञ्चालन गरिएको बताउनुभयो ।

जनताको समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँर्दै सेवाग्राहीलाई राम्रो सेवा–सुविधा दिन कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । उर्लाबारी नगरपालिकाले अब छिट्टै योजना तर्जुमा गर्ने भएकोले त्यसमा सहभागी हुन फागोले नगरवासीसँग अनुरोध गर्नुभयो । महिला, दलीत, आदिवासी, अपाङ्ग, ज्येष्ठ नागरिक, अल्पसंख्यक, मुश्लिम सबैको सहभागितामा व्यापक छलफल गरी योजना तर्जुमा गर्ने नगरपालिकाको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

नगरपालिकाको ५० हजार, जिल्ला समन्वय समितिको ५५ हजार, स्थानीय विष्णु सेन्दाङ र उहाँकी धर्मपत्नी लक्ष्मी सेन्दाङको एक लाख ५० हजार सहयोगलगायत बिभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा सो गाउँघर क्लिनिकको भवन निर्माण गरिएको हो ।

सेन्दाङ दम्पतिले बुबा स्व.लिलाप्रसाद सेन्दाङ र आमा स्व.कृष्णकुमारी पङयाङ्गुको स्मृतिमा उक्त रकम सहयोग गर्नुभएको भवन निर्माण समितिका अध्यक्ष मेदिनीप्रसाद चिमोरियाले जानकारी दिनुभयो । उक्त गाउँघर क्लिनिकसहित उर्लाबारी नगरपालिकाभित्र गाउँघर क्लिनिकको संख्या ११ पुगेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्