झापा कृष्ठरोगको जोखिममा


 


दमक, असार ३

झापा जिल्ला कुष्ठरोगको जोखिममा रहेको सरोकारवालाले औँल्याएका छन् । पछिल्लो सरकारी तथ्यांकले जिल्लामा कुष्ठरोगको अवस्था उच्च देखिएको छ ।

कुष्ठरोग निवारणसम्बन्धी कार्यरत जिल्लाको कुष्ठरोग रोकथाम कार्यक्रमका सुपरभाइजर पर्शुराम पोख्रेलका अनुसार नेपालबाट उन्मूलन भइसके पनि झापामा अझै कुष्ठरोगको जोखिम रहेको पाइएको छ । जिल्लाका भद्रपुर, विर्तामोड, दमक, शिवसताक्षी, अर्जुनधारा, बुद्धशान्ति लगायतका क्षेत्रमा कुष्ठरोगको बढी जोखिम पाइएको उहाँले जानकारी दिनुभयो । पोख्रेल भन्नुहुन्छ, “भारतसँग जोडिएका जिल्लाका शहर, बस्तीमा कुष्ठरोग चुनौतीका रुपमा देखिएको छ ।”

पोख्रेलका अनुसार जिल्लामा गएको ४ वर्षको अवधिमा ७५८ जना कुष्ठरोगी फेला परेको र तीमध्ये अहिले १५९ जनाले नियमित रुपमा औषधि सेवन गरिरहेका छन् । जिल्लामा २ वर्षमाथि देखि १०३ वर्षका मानिसलाई सर्ने खालको कुष्ठरोग भेटिएको पोख्रेल बताउनुहुन्छ । जिल्लामा कुष्ठरोग निवारण गर्ने उद्देश्यले झापाका १५ वटै स्थानीय तहका कार्यालयले खोजपड्ताल अभियान शुरु गरिएको छ ।

यसैबीच, दमक नगरपालिकाकाले असार ६ देखि १० गतेसम्म नयाँ कुष्ठरोगीको खोजपड्ताल कार्यक्रम शुरु गर्ने भएको नगर स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले जानकारी दिनुभयो । अर्यालले खोजपड्तालमा महिला र पुरुष गरी १० वटै वडामा स्वास्थ्यकर्मीहरुको टोलीलाई तालीम प्रदान गरी वडावडाका घरघरमा खटाउन लागिएको बताउनुभयो । रासस

प्रकाशित मिति: ३ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्