ज्येष्ठ नागरिकको दोस्रो चरणको चेकजाँच


 


मोरङ, असार १३

मोरङको पथरीशनिश्चरे नगरपालिकाको ‘ज्येष्ठ नागरिकसंग नगरपालिका’ कार्यक्रम अन्तर्गत ८० वर्षमाथिका ज्येष्ठहरुको घर घरमा गएर उपचार गर्ने दोस्रो चरण सुरु भएको छ ।

गत वैशाखबाट थालिएको यो कार्यक्रमको दोस्रो चरणमा २ नम्वर वडामा ज्येष्ठको चेकजाँच सुरु भएको स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाउनु भयो । यस क्रममा नगर प्रमुख दिलीपकुमार राई समेत सहभागि भई ज्येष्ठहरुको सन्चविसन्चका बारेमा सोधपुछ गरिएको छ ।

नगर प्रमुखसंगको भेटमा ज्येष्ठहरुले घरघरमै आएर चेकजाँच गर्दै स्वास्थ्य सल्लाह दिने नगरपालिकाको कार्यक्रमप्रति खुसी व्यक्त गरेका स्वास्थ्य संयोजक आचार्यले बताउनु भयो । ७० वर्षमाथिकाको उपचारमा १ नम्वर प्रदेशका अस्पतालमा जाँदा एकतर्फी एम्वुलेन्स भाडा नगरपालिकाले व्यहोरिदिने कार्यक्रमले पनि उनीहरु खुसी देखिएका छन् ।

गत वैशाखसम्मको तथ्यांक अनुसार नगरमा ८० वर्षमाथिका ज्येष्ठको संख्या ९ सय २७ रहेको छ । प्रत्येक महिना घर घरमा चेकजाँच र स्वास्थ्य परापर्शका लागि सरिता कटुवाल, ममता माझी, एल्डिना गुरुङ र रविना तामाङ खटिनु भएको छ ।

प्रकाशित मिति: १३ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्