कोलम्बिया समूह विजेता बन्दा जापानको भाग्य चम्कियो


 


काठमाडौं, असार १४

कोलम्बिया ६ अंकसहित समूह एचको विजेता बन्दा समान ४ अंक भएपनि जापान समूह उपविजेता रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

पोल्यान्डसँग १–० ले खेल गुमाएपनि अर्को खेलमा कोलम्बियाले सेनेगललाई १–० ले हराएपछि जापानको प्रि क्वार्टरफाइनल यात्रा निश्चित भएको थियो ।

बराबरी गरे पुग्ने खेल गुमाएसँगै सेनेगल यसपटक विश्व कपको समूह चरणबाट बाहिरिने १६ औं टोली बनेको छ । प्रतिष्ठाका रुपमा रहेको खेलमा पोल्यान्डका लागि जान बेन्डनारेकले ५९ औं मिनेटमा गोल गरेका थिए ।

अर्को खेलमा ७४ औं मिनेटमा यरी मिनाले गरेको गोलमा कोलम्बियाको जित मात्र होइन प्रि क्वार्टरफाइनलको यात्रा निश्चित भएको थियो । कर्नरमा आएको बलमा मिनाले हेडमार्फत गोल गरेका थिए । यसअघि पोल्यान्डलाई ३–० ले हराउँदा पनि मिनाले पहिलो गोल गरेका थिए ।

पहिलो खेलमा जापानसँग २–१ स्तब्ध भएपछि दबाबमा रहेको कोलम्बिया अर्को खेलमा पोल्यान्डलाई हराउँदै प्रतिस्पर्धामा फर्केको थियो ।

पोल्यान्डलाई २–१ ले हराउँदै सुखद सुरुवात गरेको सेनेगल जापानसँगको दोस्रो खेलमा २–२ को बराबरीमा रोकिएको थियो ।
समूह चरणको खेल सकिदा कोलम्बियाको ६, जापान र सेनेगलको समान ४ र पोल्यान्डको ३ अंक रह्यो ।

प्रकाशित मिति: १४ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्