‘ससर्त सत्ता फर्काउन सैनिक नेता तयार’


 


एजेन्सी, असोज ५

बुर्किना फासोमा सत्ता हातमा लिएका सैनिक जनरलले क्षेत्रिय मध्यस्तकर्ताहरुको प्रस्तावमा आधारित भएर छिट्टै नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन्।

राष्ट्रपतिका विशेष सुरक्षा गार्डको सहयतामा जनरल जिलबेर देन्देरेले बिहीबार सत्ता हातमा लिएका थिए। देश गृहयुद्धको जोखिममा रहेको उल्लेख गर्दै उनले पश्चिम अफ्रिकी देशहरुको एउटा क्षेत्रिय आर्थिक संगठनको पर्यवेक्षणमा सहमति भए नागरिक सरकारलाई शक्ति हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका हुन्।

उनको त्यो भनाई सेना प्रमुखले राष्ट्रपतिको सुरक्षा गार्डलाई कुनै रक्तपात बिना निशस्त्र बनाउने एक मात्र उदेश्यले राष्ट्रिय फौजले राजधानीलाई नियन्त्रणमा लिइरहेको बताएपछि आएको छ। त्यसो भए उनी आत्मसमर्पण गर्न तयार छन्? बीबीसीलाई टेलिफोनमा जनरल देन्देरेले भने, “हामी अझैं त्यहाँ पुगेका छैनौं, हामी छलफलको निरन्तरता चाहन्छौं।”

पश्चिम अफ्रिकी मुलुकहरुको संगठनको निर्णय लागू गर्न तयार आफू तयार रहेको उनको भनाई छ। प्रस्तावित योजनामा नागरिक सरकारको पुनरागमन हुने, ‘कु’ मा संलग्न सुरक्षाकर्मीलाई आममाफी दिने र नोभेम्बरमा चुनाव गराउने कुरा उल्लेख छ।

तर उनले त्यो योजनाले संकट अन्त्य गर्ने पश्चिम अफ्रिकी नेताहरुले सुनिश्चित नगर्दासम्म सत्ता नत्याग्न दृढ रहेको बताए। त्यसअघि उनले आफूले देशमा थप रक्तपात नचाहेको भन्दै प्रधानमन्त्री इज्याक जिदालाई रिहा गरिने बताएका थिए। राष्ट्रका समक्ष क्षमायाचना गर्दै उनले भनेका थिए, “सदभावको संकेतको रुपमा प्रधानमन्त्रीलाई रिहा गरिने छ।”

तर बीबीसीकी एकजना सम्वाददाता भन्छिन, “उनको घोषणालाई राजधानीमा सेना तथा तत्काल शक्ति हस्तान्तरणको माग गरिरहेका नागरिक समाज र प्रदर्शनकारीहरुले कुन रुपमा लिन्छन् भन्ने कुरा अझै प्रष्ट भइसकेको छैन।”

सडक प्रदर्शनद्वारा गत वर्ष राजिनामा दिन बाध्य बनाइएका पूर्व राष्ट्रपतिका ब्लेज कम्पाओरेका सहयोगीद्वारा ‘कु’ गरिएको हो। फ्रान्सका राष्ट्रपतिले अन्तरिम सरकारका अपदस्त राष्ट्रपतिको पुनर्वहाली नहुँदासम्म नागरिक, आर्थिक र सैन्य सहकार्य निलम्बित गरेको जनाएका छन्।

बुर्किना फासोस्थित फ्रान्सेली राजदूतले अपदस्त अन्तरिम सरकारका प्रमुख मेकेल काफान्दोलाई शरण दिएका छन्। उनले अन्य नेताहरुलाई राखेर पछिल्लो परिस्थितिबारे छलफल गरिरहेका छन्।

bbc

प्रकाशित मिति: ५ आश्विन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्