पहिरोबाट दुई घरपरिवार विस्थापित


 


सोलुखुम्बु, भदौँ १३

पहिरोका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकाञ्जेमा दुई घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा स्थानीयवासी सुब्बा थामी र सुकवीर थामीको परिवार रहेका छन् ।

निरन्तरको वर्षात्का कारण भदौ १ गते घरआँगनबाटै पहिरो गएपछि दुई घर विस्थापित भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक टुक्ति शेर्पाले जानकारी दिनुभयो । “पहिरोले घर नै जोखिममा पर्यो” पहिरो पीडित सुकवीरले भन्नुभयो, “अहिले आफन्तको शरणमा बसिरहेका छौँ ।”

निरन्तरको वर्षात्का कारण सुख्खा ठाउँबाट नै पानीको मूल फुट्न थालेपछि पहिरो गएको पीडित थामीले बताउनुभयो । “पहिरोले घर वरिपरिको जमीन चिराचिरा भएको छ” अर्का पीडित सुब्बा थामीले भन्नुभयो । पहिरोले घरपरिवार नै विस्थापित भएपछि वडा कार्यालयले व्यवस्थापनको प्रयास शुरु गरेको जनाएको छ । वडा नम्बर ५ का वडाध्यक्ष ङिमाछिरी लामाले पहिरो रोकथामका लागि गाउँपालिकामा छलफल गरी तत्काल व्यवस्थापन गरिने बताउनुभयो । रासस

प्रकाशित मिति: १३ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्