खेलमैदान संरक्षणका लागि अवलोकन


 


मोरङ, भदौँ २०

मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरभित्र रहेका खेलमैदानहरुको संरक्षण गरी तिनीहरुलाई व्यवस्थित गर्न खेलमैदानहरुको अवस्था वुझ्ने काम गरेको छ ।

नगर उपप्रमुख यमुना विष्टको अगुवाईमा नगर खेलकुद विकास समितिका अध्यक्ष मणि सुब्बा सहित युवाहरुको टोलीले खेल मैदानहरुको अवस्था अवलोकन गर्न सुरु गरेको छ । जसअन्तर्गत, वडा नम्वर १ को पथरी बजार उत्तरमा रङ्गशालाको रुपमा प्रस्तावित रहेको खेल मैदानलाई रङ्गशाला बनाउन पहल थालिने उपप्रमुख वास्तोलाले अवलोकनका क्रममा उल्लेख गर्नुभयो ।

अन्तरराष्ट्रिय मान्यता विपरित पूर्व–पश्चिम फर्किएको सो खेल मैदानलाई उत्तर–दक्षिणको बनाएर रङ्गशालाको योजना बनाउने उहाँले वताउनु भयो । त्यहाँ भत्किएको मर्खाल र पोल मर्मतको आवश्यता रहेको अवलोकनका क्रममा देखिएको छ ।

टोलीले वडा नम्वर १ को सुनाखरी खेलमैदान, २ को चौतारी खेल मैदान र १० को शिविर दक्षिणको खेलमैदानको अवलोकन गरेको छ । वाँकी खेलमैदानको पनि अवलोकन गरिने छ । १० वडा रहेको नगरको ३ नम्वरमा विद्यालयको बाहेक खेल मैदान नभएको र अन्य वडामा गरी ९ वटा खेल मैदान रहेको खेलकुद विकास समिति सचिव नैना साम्पाङले जनाउनु भयो ।

सवै खेलमैदानलाई व्यवस्थित गर्दै वडा वडाका युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने समितिको योजना रहेको उहाँले बताउनु भयो ।नगरस्तरीय प्रतियोगिताहरु समेत सञ्चालनलाई व्यवस्थित गर्दै पथरी गोल्डकप फुटबललाई निरन्तरता दिने सुनाए । नगरपालिकाले चालु आर्थिक वर्षमा खेलकुदका लागि ११ लाख रुपैयाँ छुट्याएको छ ।

प्रकाशित मिति: २० भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्