राष्ट्रपति एमालेलाई, विद्या भण्डारीको सम्भावना बढ्यो


 


bidya bhandariकाठमाडौं, असोज २७

सरकार नेतृत्व दल नेकपा एमालेले राष्ट्रपति पद आफैंसँग राख्ने भएको छ। सत्ता साझेदार तीन दलबीच मंगलबार एमालेलाई राष्ट्रपति, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई उपराष्ट्रपति, एकीकृत नेकपा माओवादीलाई सभामुख र राप्रपा नेपाललाई उपसभामुख पद बाँड्ने सहमति जुटेको हो।

उनीहरुले सोहीअनुसार निर्वाचनमा उम्मेदवारी दिने पनि सहमति भएको छ। स्रोतअनुसार एमालेले राष्ट्रपतिमा उपाध्यक्ष विद्या भण्डारी वा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पठाउने सम्भावना छ।

एमाले र एमाओवादीबीच मंगलबार दिउँसो भएको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति एमालेलाई लिन प्रस्ताव गरेका थिए। ‘एमाओवादी अध्यक्ष प्रचण्ड (दाहाल) ले नै एमालेलाई राष्ट्रपति राख्न प्रस्ताव गर्नुभएको थियो,’ एमाले स्रोतले भन्यो, ‘उहाँले राष्ट्रपतिमा विद्या भण्डारीको नाम पनि प्रस्ताव गर्नुभयो।’

एमाले भित्र भावी राष्ट्रपति को बन्ने भन्ने विषयमा चर्चा सुरु समेत भएको छ । एमालेभित्र  भण्डारीलाई राष्ट्रपति बनाउने विषयमा लगभग सहमति भएको एमाले स्रोतले जनाएको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डले पनि भण्डारीकै नाम सिफारिस गरेका थिए । भण्डारी राष्ट्रपति हुँदा पहिलो महिला राष्ट्रपति हुने सौभाग्य प्राप्त गर्नेछिन् ।

प्रकाशित मिति: २७ आश्विन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्