तेह्रथुममा नेपाल कम्युनिष्ट पार्टीको कार्यालय स्थापना
तेह्रथुम,कात्तिक ११
तेह्रथुममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय स्थापना भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि जिल्लामा पनि कार्यालय स्थापना भएको हो ।
कार्यालयको नेकपाका केन्द्रीय सदस्यद्वय डाक्टर विजय सुब्बा र दुर्गाप्रसाद चापागाईंले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । नेकपाले तत्कालीन नेकपा एमालेको कार्यालयमा पार्टी कार्यालय राख्ने र नेकपा माओवादी केन्द्रको कार्यालयमा जनवर्गीय र पेशागत संगठनको कार्यालय राख्ने सहमति भएको जनाएको छ ।

नेकपाको प्रदेश १ पदाधिकारी बैठकले जिल्लामा पार्टी र जनवर्गीय संगठनहरुको एकीकरण प्रस्ताव तयार गर्न कार्यदल गठन गरेको थियो । सोही कार्यदलकोे बैठकले पार्टी कार्यालय स्थापना गर्ने, दुई पार्टीका चल अचल सम्पत्ति एकीकृत गर्ने, नगर कमिटी, गाउँ कमिटी र वडा कमिटीको संरचना तथा सिफारिसका लागि स्थानीय तहस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: ११ कार्तिक २०७५, आइतबार












