हराउँदैछ मौलिक देउसी भैलीे


 


असीम दुङमाली

दशैं खुल्यो जमराले, तिहार खुल्यो मखमलीले
मनै खुल्यो देउसे–भैलीले ।।

यस वर्षको तिहार अवधिमा सर्वाधिक बजेको गीतमध्येको यो गीतले जति तिहारको रौनक बढाउन भूमिका खेल्यो उति आशातित रुपमा गाउँघरका टोलहरुमा देउसी–भैलीको रौनक बढ्न सकेनन् । तिहारमा देउसी भैलीको महत्व र यसले ल्याउने रौनकको बारेमा गीतमा वर्णन गरिए अनुसार देशैभर खासै रौनकता नआएको खबर आमसञ्चार माध्यमहरुबाट आइ नै रहेका छन् । त्यसो त तिहारमा मात्र खेलिने विशेष देउसी–भैलीको मौलिक संस्कृति वर्षेनी घट्दो क्रममा रहेको सबैको अनुभूति पाइन्छ ।

तिहार अवधिभर रेडियो टेलिभिजनबाट बज्ने यस्ता देउसी भैलीको गीत संगितबाट मनोरञ्जन लिनु र तिहारमा प्रत्यक्ष रुपमा देउसी भैलीमा सहभागीता जनाइ घरघरमा टोलटोलमा रमाइलो वातावरणको सिर्जना गर्नुमा नितान्त फरक पक्षहरु हुन् । तिहार पर्वको प¥र्यायको रुपमा देउसी–भैलीलाई लिने गरीन्छ । केही दशक अघिसम्म मनोरञ्जनको साधन र अवसरहरुको खडेरी हुन्थ्यो । तिहारमा मौलिक देउसी–भैली खेल्दाको आनन्दको आफ्नै पृथक महत्व रहन्थ्यो । तर पूर्वी नेपालभर यस वर्ष विगतमा झैं मौलिक देउसी भैलीको खास रौनकता छाएन ।

भैलेनी आयौं आगन बढारी कुढारी राखन न ।
हे औंसीको दिन ।।।।।।। भैली – भैली राम ।।

झिलिमिली झिलिमिली–देउसी रे ।
ए, है भन, भन भाइ हो – देउसी रे ।।।।।
भनेर
प्रत्येक घरदलानमा पुगेर लक्ष्मीपूजाको दिन रात भैली र भोलिपल्ट देउसी खेल्ने परम्परा हो, हाम्रो । देउसी भैली टोलीले कुनै टोलमा पुगेपछि कुनै घरलाई पनि नछुटाइकन सबै घरघरमा अनिवार्य पुग्नु पर्ने प्रचलन छ । घर दलानमा आइपुगेका देउसे भैली टोलीलाई उक्त दिन बस्ने सुविधाको निम्ति कुनै गुन्द्री, कुर्सी दिनुहुँदैन भन्ने मान्यता भएकाले उभिएरै देउसी भैली गाउनु पर्ने र दान दक्षिणा ल्याइदिए पश्चात उक्त घरको सुब्बेफाब्वेको निम्ति आशिष दिएर मात्र दान लिएर घरवालासँग बिदा नमागीकनै बाटो लाग्नु पर्ने नेपाली सँस्कार रहेको छ ।

आजकल यस्ता परम्परागत संस्कारका कुराहरु कता हराए–हराए । विशुद्ध देउसी–भैली खेल्ने टोली देख्नै पाइन्न । बरु सानो भए पनि साउण्ड सिष्टममा बेतुकका गीतहरु घन्काएर उफ्रिने अधिक छन् । देउसी भैली सम्बन्धी थुप्रै नेपाली गीत छन् तिनलाई बजाएमा पनि केही सुहाउँदो त हुन्थ्यो । काठमाण्डौवासी उल्झन अभिकारीको गुनासो छ, “मौलिक संस्कार बचाउन देउसी–भैली खेल्न आएको भनेर दिलवर–दिलवर गीतमा नाचेर जान्छन्” यस्ताहरुलाई के भन्ने रु । देउसी भैली खेल्ने तौर तरिकामा परिवर्तन आउनुमा युवाहरुको मात्र दोष नरहेको तर्क गर्छन अधिकांश युवाहरु समयको अभाव साथै क्लबहरुको सक्रियता देखाउनलाई भए पनि औपचारिक नाचगानको कार्यक्रमहरु गर्नु परेको धेरैजसो युवाहरु बताउछन् ।

देउसी भैलीको खेल्ने शैली मात्र परिवर्तन भएको छैन । देउसी भैली खेल्ने प्रचलनमै न्यूनिकरण हुँदै गएको छ । तेह्रथुम ओयाकजुङका धनबहादुर योगीका अनुसार दशक अघि सम्म तिहारमा देउसी भैली खेल्ने तीन दर्जन भन्दा बढि टोलीहरु आफ्नो घरमा आउने गरेको स्मरण गर्नुहुन्छ । यस वर्ष उहाँको घरमा मुस्किलले आधा दर्जन टोलि स–साना बच्चाहरु मात्र देउसी भैली खेल्न आए । ग्रामिण भेगमा युवाहरुको जनसँख्या दिनदिनै घट्दोक्रमले पनि देउसी भैलीमा प्रभाव परेको हुन सक्ने धेरैको अनुमान रहेको छ । भएका युवाहरुले मौलिक देउसी भैलीलाई भन्दा आधुनिक नाचगानलाई प्राथमिकता दिएकाले अझ समस्या थापिएको बताइन्छ ।

विगतमा देउसी भैली खेल्नकै निम्ति गाउँघरमा टोलटोलमा बालबच्चा, युवा, प्रौढ देखि बुढाबुढीहरु समेतको स्वतस्फूर्त समूह बन्दथ्यो । देउसी भैली खेल्न, अनि मादल, बाँसुरी बजाएर स्थानीय लोक गीत गाउँदै नाच्दै रमाइलो गरीन्थ्यो । तिहारमा वर्षेनी देउसी भैली खेलेर संकलन गरिएको रकमले नै सामाजिक कार्यहरुमा आत्यवश्यक स्ट्रेचर, थाल, भाँडा बर्तन, क्यासेट प्लेयर, साउण्ड सिष्टमका उपकरण आदि व्यवस्थापन गरिएको अनुभव सुनाउँछन् साकेवा समाज सानोदुङमाका अध्यक्ष तिलविक्रम राई । आजभोलि धेरैले देउसी भैली खेलेर संकलन गरीएको रकमले मंसीर लागेपछि वनभोज खाने गरेको पनि देख्न पाइन्छ ।

आजभोलि देउसी भैलीको स्थान विस्तारै साँस्कृतिक कार्यक्रमहरुले विस्थापित गर्दैछन् । गाउँशहर जताजतै टोलटोलमा विभिन्न क्लब, समूहहरु युवाहरुले तय गर्ने क्रम बढ्दो छ । सालिन्ने यस्ता क्लब वा समूहहरुले देउसी भैलीको नाउँमा महिनौ अघि देखि नाचगानको रिहर्सल गर्ने प्रचलन बढेको छ । ती समूहहरुले खास देउसी भैलीको तिथि नआइ नै आफ्नो समूह बनाएर टोलटोलमा कुनै एक खास स्थानमा मानिसहरुलाई एकत्रित गर्ने गरी औपचारिक कार्यक्रम जस्तो तवरले देउसी–भैली भन्दा पनि साँस्कृतिक नाचगानको कार्यक्रम सञ्चालन गर्ने प्रचलनको हाबि छ ।

तिहारमा गाउँघरमा मौलिक देउसी–भैली हराउँदै जानुको विविध कारणहरु छन् । त्यस मध्ये आधुनिकताको नकारात्मक प्रभाव बढ्नु र यस्ता कुराहरु समाजको भावि दिनका निम्ति ज्यादै घातक रहेको बताउनुहुन्छ, भोजपुर वहुमुखी क्याम्पस प्राध्यपक एवम् इतिहासविद कमलजंग राई ।

कतिपय समूहहरुले समाजमा सामाजिक रुपान्तरणका कार्यहरुमा समेत योगदान पनि नगरेका भने होइनन् । तथापि, उनीहरुमा मौलिक संस्कारमा विकृति ल्याएको भन्ने जुन दोष मेट्नलाई भने सक्रिय युवा क्लबहरुले देउसी भैलीको मौलिकतालाई समेत ध्यानमा राखेर समय अनुसारका कार्यक्रमहरु आयोजना गर्नु श्रेयकर हुनेछ ।

प्रकाशित मिति: २४ कार्तिक २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्