कप्तान सागर थापासहित अन्य ४ खेलाडीले म्याच फिक्सिङको आरोप स्वीकार



sagar thapaकाठमाडौं, असोज २८
राष्ट्रिय फुटवल टोलीका कप्तान सागर थापासहित अन्य ४ खेलाडीले आफूहरुमाथि लागेको म्याच फिक्सिङको आरोप स्वीकार गरेका छन् । अनुसन्धानका क्रममा आफूहरुमाथि लागेको आरोप उनीहरुले स्वीकार गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।

‘खेलाडीहरू पक्राउ परेपछि गएराति नै अनुसन्धान गर्दा उनीहरुले भावुक हुँदै अन्जानमा गल्ती गरेको र अहिले आफूहरुलाई पश्चाताप भइरहेको बताए,’ उनीहरूलाई उद्धृत गर्दै खनालले भने। अनुसन्धानका क्रममा खनालले नेपाली फुटबलको लामो समयदेखि प्रगति हुन नसकेको र लाखौं खेलप्रेमीको आशा व्यक्तिगत स्वार्थका लागि निराशामा किन परिणत गरेको भन्दै प्रश्न गरेका थिए।

अनुसन्धान गर्दा सबै खेलाडीहरुले शिर निहुर्‍याएको र सागर थापाले अहिले आफूहरुलाई पश्चाताप भइरहेको बताएको खनालले बताए। ‘अधिंकाश म्याचमा कप्तान सागर थापाको निर्देशनमा मिलेमतो भएको पाइएको छ,’ खनालले भने, ‘विदेशमा उनीहरू बसेको होटलमा डिल भएको पाइएको छ।’

खनालले राष्ट्रियता दाउपेज गरेर मुलुकलाई हरूवा बनाउनेहरु विरुद्ध राजद्रोह र संगठित अपराधको मुद्दा चलाइने बताए।

पक्राउ परेका पाँच राष्ट्रिय खेलाडीलाई प्रहरीले राज्यविरुद्ध गम्भीर षड्यन्त्र गरेको अभियोग लगाउँदै अनुसन्धान सुरु गरेको छ। राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा तथा खेलाडीहरु सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री तथा पूर्व प्रशिक्षक अन्जन केसीविरुद्ध प्रहरीले राज्यविरुद्ध अभियोगमा अनुसन्धान सुरु गरेको हो।

दशैँ विदाका कारण अदालत बन्द भएकाले प्रहरीले न्यायिक हिरासतमा राख्ने म्याद थप गर्न नसक्दा दशैँपछि म्याद थप गर्नेगरी बिहीबारबाट अनुसन्धान सुरु भएको हो। महानगरीय प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार राज्यविरुद्धको अपराधको दफा ३ को उपदफा ३.३ मा रहेको प्रावधानअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो।

दफा ३ को उपदफा ३.३ मा ‘कसैले नेपालको सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी कुनै विदेशी राज्य वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गरेमा निजलाई जन्मकैद वा दश वर्षसम्म कैद’ हुने उल्लेख छ। ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै सहभागी खेलाडीहरुले संगठित समूहसँग मिली खेल हारजीत गराएकाले यो कानुनमा टेकेर अनुसन्धान अगाडि बढाएका हौ’, एसएसपी खनालले भने, ‘महानगरीय प्रहरी परिसरसँग समन्वय गरी उनीहरुको सम्पत्ति छानवीनका लागि सम्पत्ति शुद्धिकरण विभागसँग समेत परामर्श गरिरहेका छौं।’

सन् २००८ देखि २०१५ सम्मका ८ वटा खेलमा मिलेमतो गरेको र प्रतिखेल एक करोड रुपैयाँ लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ खेलाडी एन्फाद्वारा निलम्बन
म्याचफिक्सिङ प्रकरणमा पक्राउ परेका पाँचै खेलाडीलाई अखिल नेपाल फुटबल संघले बिहीबार निलम्बन गरेको छ। ‘फुटबल खेलमा मिलेमतो जस्तो सम्वेदनशील विषयको किनारा लगाएसम्म उल्लेखित ५ जना फुटबल खेलाडीहरु एवं प्रशिक्षकलाई फुटबलको कुनै पनि गतिविधिहरुमा संलग्न नगराइने’ एन्फा महासचिब धिरेन्द्र प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एन्फाले खेल मिलेमतो प्रकरण अनुसन्धान गर्न नेपाल प्रहरीलाई सबै किसिमको सहयोग उपलब्ध गराउने समेत उल्लेख गरेको छ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय टिमका कप्तान सागर थापासहित ४ खेलाडी पक्राउ

प्रकाशित मिति: २८ आश्विन २०७२, बिहिबार