भरतमोहन अधिकारीलाई आज विराटनगरमा अभिनन्दन गरिँदै


 


विराटनगर, मंसिर १

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको बिराटनगरमा आज भब्य नागरिक अभिनन्दन गरिने भएको छ । विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय बिताउनुभएका ८३ बर्षिय नेकपाका नेता अधिकारीको आज बिहान ११ बजे विराटनगरको बिरेन्द्र सभागृहमा नागरिक अभिनन्दन गरिने भएको हो ।

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर अधिकारीलाई नागरिक अभिनन्दन गर्न लागिएको नागरिक अभिनन्दन समारोह समितिका संयोजक डा. भेषप्रसाद धमलाले बताउनुभयो ।

अभिनन्दन कार्यक्रम संचालनका लागि एलिड क्लवका अध्यक्ष समेत रहेका डा धमलाको संयोजकत्वमा ३ सय १ सदस्य मुल समारोह समिति गठन गरिएको थियो । २०४६ सालको राजनीति आन्दोलन अघि विराटनगरमा ल फर्म चलाएर बस्नुभएका अधिकारी २०४६ सालपछि पुर्णकालिन राजनीतिमा लाग्नुभएको हो ।

२०४६ सालको जन आन्दोलन अघि अधिकारीले विराटनगरमा राजनीति जागरण ल्याउन भुमिका खेल्नुभएको थियो । नाताले स्व. कृष्णप्रसाद कोईरालाको भान्जा पर्ने अधिकारीले मातृकाप्रसाद कोईरालाका छोरा कमल कोइरालासँग मिलेर विराटनगरमा लामो समय ल फर्म चलाउनु भएको थियो ।

विराटनगरमा ल फर्म संचालन गरेका बेला अधिकारीले राजनीति मुद्दामा पक्राउ परेका ब्यक्तिहरुको पक्षमा बढी बहस गर्ने गर्नुहुन्थ्यो । बहुदलिय आन्दोलन पछि स्वर्गिय मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने कम्युनिष्ट सरकारमा भरतमोहन अधिकारी अर्थ मन्त्रीको रुपमा हुनुहुनथ्यो । जेष्ठ नागरिकलाई बृद्धभत्ता दिने कार्यको प्रारम्भ गर्न महत्वपुर्ण भुमिका खेल्नुभएका अधिकारी पछिल्लो समय राजनीति जीवनमा थोरै मात्र क्रियाशिल हुुनुहुन्छ ।

प्रकाशित मिति: १ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्