मोरङमा १० महिनामा ५६ जना बलात्कारको सिकार


 


मोरङ, मंसिर १

मोरङमा १० महिनाको अवधिमा ५६ वटा बलात्कार घटना भएको तथ्यांक सार्वजनिक भएको छ । जसमध्ये ४३ बालिका रहेका छन् ।
इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयको तथ्यांकअनुसार यो वर्षको अक्टोबरसम्ममा ५६ जना बलात्कारको सिकार भएको उल्लेख छ ।

यस्तै, २७ जनामाथि बलात्कारको प्रयास भएको छ । जसमा ११ बालिका छन् । उक्त अवधिमा मोरङमा मात्रै ११ जनाको हत्या भएको छ । हत्या भएकामध्ये तीन पुरुष र छ महिला छन् । यस्तै, सात जनाको हत्या प्रयास भएको छ ।

कुटपिटबाट आठ जना घाइते भएका छन् । तथ्यांकअनुसार घरेलु हिंसाबाट सात, बहुविवाहबाट १०, मानव बेचबिखनको घटनाबाट तीन, गोली प्रहारबाट एक नागरिक तथा राजनीतिक अधिकार हननका घटनाबाट ३० जना पीडित भएका छन् ।

बम विस्फोटका दुई वटा घटना भएका छन् भने दुई वटा अपहरणको घटनाबाट सात जान पीडित भएका छन् । मोरङमा एउटा बालविवाहको घटना पनि भएको इन्सेक प्रतिनिधि इन्दिरा भट्टराईले जानकारी दिनुभयो । यस अवधिमा १३५ वटा घटनामा परी १७१ जना पीडित भएको इन्सेकका प्रदेश १ संयोजक सोमराज थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्