एकैसाथ राखीका दुई एल्बम


 


काठमाडौँ, ३ मंसिर
अमेरिकाको क्यालिफोर्नियामा बसेर साहित्य साधना गर्दैआएकी कवि तथा गीतकार राखी गौचन हालै एकैसाथ आधुनिक गीतका दुई एल्बम ‘जानी नजानी’ र ‘परिभाषा’ लिएर बजारमा आएकी छन् ।

छ वटा गीत रहेको ‘जानी नजानी’ एल्बममा गायिका बानीका प्रधानको सुमधुर स्वर रहेको छ । एल्बममा चार जना सङ्गीतकारले सङ्गीत दिएका छन् ।

‘जानी नजानी’ तथा ‘मान्छे हुँ’ बोलको गीतमा दिनेश सुब्बा, ‘नभेटेको मान्छे’ तथा ‘म आगो बोकेर’मा हरि लम्साल, ‘यो सुन्दरता’मा सुरजकुमार थापा, र ‘कहाँ बिरायौ’मा आशकुमार राईको सङ्गीत रहेको छ ।

यसै गरी पाँच वटा गीत समावेश गरिएको एल्बम ‘परिभाषा’का सबै गीत गायक सुरजकुमार थापाले गाएका छन्् भने सङ्गीत पाँच जनाले गरेका छन् । ‘जति छन्’ बोलको गीतमा सुरजकुमार थापा, ‘नामबिना’ बोलमा नारायण सुवेदी, ‘भनौँ भने’मा नरबहादुर दाहाल, ‘नपढ आज’ बोलको गीत नारायण ओली, र ‘खाली हुँदा’ बोलको गीत किरण कँडेलद्वारा सङ्गीतबद्ध छन् । सबै गीतका सङ्गीत संयोजक किरण कँडेल रहेका छन् ।

केही वर्षअघिमात्र ‘म मातिएको बेला’ बोलको पहिलो गीत यम बरालको सङ्गीत र सपनाश्रीको स्वरमा रेकर्ड गराएर गीत लेखनमा समर्पित भएकी राखीका यस अवधिमा दर्जनौँ गीत रेकर्ड भइसकेका छन् ।

स्कुले जीवनदेखि नै नाच्न, गाउन, अभियन गर्न र कविता लेखनमा औधि रुचि भएको बताउने राखी हाल सिर्जनाकर्ममै समर्पित रहेकी छन् । उनको भाषामा गीत जीवनका अनुभव, अनुभूति र भोगाइहरुको जीवन्त समिश्रण हो । उनि भन्छिन् गीत सङ्गीतले जीवनलाई सहज तरिकाले बुझ्न सहजिकरणको भूमिका निर्वाह गर्छ ।

साहित्य लेखनप्रतिको उनको मोहको कारण सुन्दा अस्वभाबिक र दार्शनिक लाग्छ । म गीत र कविता यस कारण लेख्छु अहिले मैले टेकिरहेको माटो , मैले फेरिरहेको श्वासको गन्ध एक युगपछि शब्दहरुमा टाँसिएर ताजै रहोस् । कालजयी लेखनमा प्रतिबद्ध र इमान्दार राखी गोैचनको कलमलाई मीठो शुभकामना ।

प्रकाशित मिति: ३ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्