अभावबीच गुज्रदै यसपालिको दशै‌ं


 


भोजपुर, असोज २९
भोजपुरमा विगत बर्षको तुलनामा यो बर्षको दशैंमा चहलपहल बढ्न सकेको छैन् । सहरबाट गाउँ आउनेको संख्या पनि कम छ भने गाउँबाट सहर जानेको संख्या पनि न्यून देखिन्छ ।

प्रत्येक बर्षको दशैंमा प्रायः सुनसान हुने भोजपुर सदरमुकाम यो बर्ष पनि सुनसान नै देखिन्छ । सदरमुकाम सुनसान भएपनि विगत बर्षहरुमा गाउँ भने गुल्जार हुन्थे ।

तर यो दशैंमा गाउँ पनि सुनसान नै देखिएका छन् । लगातारको तराई बन्द र भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका कारण दशैं मनाउन तराई र राजधानीबाट गाउँ मानिसहरु आउन सकेका छैनन् ।

बरु सदरमुकाममा भएका स्थानीय काठमाडौं जाने तयारीमा छन् । भोजपुर नगरपालिका–७ का जीवन श्रेष्ठ कार्तिक ४ गते दशैं मनाउन जहाजबाट काठमाडौं जाँदैछन् ।

श्रीमती यस अगाडी नै काठमाडौं पठाइसकेका उनले छोरा र आफु काठमाडौं जान लागेको बताए । काठमाडौंबाट–भोजपुर परिवारका सदस्य आउन समस्या भएपछि उतै जान लागेको उनको भनाई छ ।

प्रायः यहाँका स्थानीयको काठमाडौंमा पनि घर छ । तर काठमाडौबाट भोजपुर दशैं मनाउन घर आउन नपाउँदा भोजपुर–७ कै सुविना प्रधानलाई भने दशैं खल्लो लाग्दैछ ।

२६ बर्षकी उनी बाबुुआमाको हातको टिका लगाउन नपाउँदा दुःखी बनेकी छिन् । अहिलेसम्म सधै बाबुआमाकै साथमा दशैं मनाउँदै आएकी उनले गाडी बन्द र जहाजको टिकट नपाउँदा उनको दशैं खल्लो बन्न लागेको हो ।

प्रधान जस्तै सहरमा हुनेहरु धेरैले यो पटक यस्तै पीडा महसुस गरेका छन् । अरु बेला भेट नभए पनि दशैंमा भेटघाट र रमाइलो गरी चाडपर्व मनाउने तयारीमा रहेको परिवार अहिले यस्तै छटपटी र पीडामा छन् ।

कसैका छोरी आउन पाएका छैनन् त कसैका छोरा । अध्ययन, रोजगारी र विभिन्न पेशा व्यवसाय गरेर अलग–अलग ठाउँमा बस्दै आएकाहरु यो दशैंमा सँगै बसेर दशैं मनाउँन नपाउँदा दुःखी बनेको बताउँछन् ।

अहिले भोजपुर आउने र जाने गाडीको संख्या समेत घटेको छ । दिनहुँ १० वटा यात्रुबाहक सवारी साधन चल्ने भोजपुरमा यतिबेला पाँच वटा मात्र बस चल्दै छन् ।

पेट्रोलियम पदार्थ अभाव हुँदा सवारी साधन घटाइएको हो । हप्तामा छ दिन हवाई उडान भए पनि यात्रुहरुको चापका कारण भोजपुर आउन जहाजको टिकट पाउनै मुस्किल छ ।

प्रकाशित मिति: २९ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्