‘विपत् जोखिम रोक्न सबैको दायित्व’


 


दमक, मंसिर २३

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विपत् जोखिम नियन्त्रण गर्न सबैको दायित्व भएको औंल्याउनुभएको छ ।यहाँ आजदेखि शुरु भएको स्थानीय तहमा विपत् सचेतना तथा अभिमुखीकरण तालीमको उद्घाटन गर्नुहुदै मन्त्री कार्कीले विपत् हुनसक्ने जोखिम नियन्त्रण गर्न समयमानै उपाय अवलम्बन गर्न सकिए उत्पन्न हुने जोखिम कमी आउने जोड दिनुभयो ।

विपत् व्यवस्थापन गर्न सबैको चुनौती भएको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “विपत् व्यवस्थापन गर्न सबैले प्रयास गर्ने हो भने त्यसबाट हुने मानवीय तथा प्राकृतिजन्य जोखिममा कमी आउने छ ।” कार्यक्रममा मन्त्रालयका सचिव गोपालप्रसाद पराजुलीले विपत्बाट उत्पन्न हुने जोखिम न्यूनीकरण गर्न तथा त्यस सम्बन्धी सचेतना दिन प्रदेश सरकारले १४ वटै जिल्लाका स्थानीय तह, रेडक्रससहित सरोकारवालासँग छलफल सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीलगायतले विपत् जोखिम न्यूनीकरण गर्न सबै क्षेत्रको साझा दायित्व हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सोमबारसम्म चल्ने सो तालीममा झापा र मोरङका विभिन्न स्थानीय तह, विपत् व्यवस्थापनका क्षेत्रमा क्रियाशील सङ्घ संस्थालगायतका प्रतिनिधिको सहभागिता रहेको छ । तालीममा मन्त्रालयका विपत् व्यवस्थापन महाशाखाका प्रमुख रवीन आचार्यले सहजीकरण गरिहनुभएको छ । रासस

प्रकाशित मिति: २३ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्