हाइटीको भूकम्पमा यसरी पनि बाँचे मान्छे


 


haiti_Rescueबैशाख १२ गते नेपालमा गएको महाभूकम्पमा पुरिएको आशंकामा अझैं पनि मानिसको खोजी कार्य जारी छ । उद्दारकर्ताहरुले १२०, १२८ घण्टासम्म पनि च्यापिएका र पुरिएकाहरुको जिवितै उद्दार गरेका छन् । त्यस अघि पनि दर्जनौंको पुरिएको ठाउँबाट जिवितै उद्दार गरिएको थियो ।

५ बर्षअघि हाइटीमा पनि शक्तिशाली भूकम्प गएको थियो । भूकम्प र यसपछि पैmलिएको महामारीले २ लाखभन्दा बढीको ज्यान गएको आशंका छ भने लाखौं घर भत्किए र हजारौं घाइते भए । सन् २०१० जनबरी १२ मा हाइटीको राजधानी पोर्ट-अ-प्रिन्सबाट २६ किलोमिटर पश्चिम केन्द्र बनाएर ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

हाइटी भूकम्पमा उद्दारकर्ताहरुले कयौं दिनपछिसम्म पनि जिवितै मानिसको उद्दार गर्ने सफलता हात पारे । त्यहाँको उद्दार हाम्रा लागि प्रेरणा र उदाहरण हुनसक्छ । बीबीसीले हाइटी भूकम्पको केही दिनपछि जिवितै उद्दार गरिएका केही व्यक्तिहरुबारे सामग्री तयार पारेको थियो । त्यही सामग्रीको अनुवाद यहाँ साभार गरिएको छ ।

डार्लेन इटिन, उद्दार १५ दिनपछि

भूकम्प गएको १५ दिनपछि १६ बर्षीया डार्लेन इटिन पोर्टु प्रिन्सस्थित कलेज भवनको नजिकैको भग्नावशेषबाट निकालिएकी थिइन् ।

उनी १५ दिनसम्म बाथरुमबाट निस्किएको पानी खाएर बाँचेकी थिइन् । वरपरका मान्छेले उनी कराएको आवाज सुनेपछि उद्दारकर्ता उनी पुरिएको स्थानसम्म पुगेका थिए । उद्दारको बेला उनी तिर्खाएको र धुलाम्य थिइन् ।

रिको डिब्रिभेल, उद्दार १२ दिनपछि

भूकम्पपछिको झट्काले भत्किएको घरमा पुरिएका ३० वर्षिय रिको डिब्रिभेलको १२ दिनपछि उद्दार गरिएको हो । एक पसल भत्किएपछि त्यसको भग्नावशेषमा उनी पुरिएका थिए । पसल रहेको भवन भत्किएपछि धेरैले त्यहाँबाट सामान लुटेर लगेका थिए ।

अमेरिकी सैनिकहरुलाई पसलभित्र कोही मान्छे हुनसक्ने खबर दिएपछि उनको उद्दार सुरु गरिएको थियो । उद्दार हुँदा उनको शरीरमा भित्री बस्त्र मात्र बाँकी थियो भने उनी ज्यादै गलेका र दुब्लाएका थिए ।

इम्यानुयल बुसो, उद्दार १२ दिनपछि

२१ वर्षिय इम्यानुयल बुसो आफ्नै घरमा पुरिएको १२ दिनपछि जिवितै निकालिएका थिए । नुहाएर बाहिरिंदै गर्दा भूकम्प आएपछि उनी आफ्नै घरमा पुरिएका थिए । उद्दार भइसकेपछि उनले पुरिंदा आफ्नै पिसाब खाएर बाँचेको बताएका थिए ।

विस्मोन्ड एक्सान्टुस, उद्दार ११ दिनपछि

नेपोलीस्थित एक किराना पसलमा काम गरिरहेका २४ वर्षिय विस्मोन्ड भूकम्प गएपछि त्यही भवनमा पुरिएका थिए । उनको पुरिएको ११ दिनपछि उद्दार गरिएको थियो । ग्रीस, फ्रान्स र अमेरिकाको उद्दार टोलीको संयुक्त प्रयासपछि भेटिएका उनी स्वस्थ थिए ।

भग्नावशेषमा पुरिएको अवस्थामा आवाज सुनेपछि परिवारका सदस्यले ग्रीक उद्दार टोलीलाई खबर गरेका थिए । उद्दारपछि उनले आफू पसलभित्रको डेस्कमा लुकेको र पुरिएको बेला कोकाकोला र बिस्कुट खाएर बाँचेको बताएका थिए ।

हाइटी भूकम्पमा पुरिएका दर्जनौं व्यक्तिहरुको जिवितै उद्दार गरिएको थियो । जसमध्ये एक थिइन् ८४ बर्षीया मारिइ क्यारिडा जो पुरिएको १० दिनपछि जिवितै भेटिइन् । उनी कराएको आवाज सुनेपछि उनका छोराले आफ्नो साथीको मद्दत लिई खोज्न सुरु गरेका थिए ।

११ बर्षीया मेन्डिजी बहिना सानोन पनि हाइटी भूकम्पमा जिवित भेटिएकी पात्र हुन् । आफ्नै आमाले छिमेकीको सहयोगमा खोजी गरेपछि उनी भेटिएकी थिइन् । उद्दार भएलगत्तै उनले आमासंग दूध र कर्नफ्लेक्स मागिन र बेहोस भइन् । लगत्तै उनलाई अस्पताल लगियो र उपचार गराइयो ।

७ दिनसम्म बिना खाना र पानी लोजामा होटलिन बँचेको कुरालाई उद्दारकर्ताले चमत्कार मानेका छन् । हाइटीको राजधानी पोर्ट अ प्रिन्सस्थित एक सुपरमार्केटको भत्किएको भवनमा ७ दिनपछि उनी भेटिएकी थिइन् । भूकम्पमा एक १५ दिने शिशुको पनि उद्दार गरिएको थियो । पुरिएको ८ दिनपछि उनको उद्दार भएको थियो ।

बीबीसी

 

प्रकाशित मिति: ८ जेष्ठ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्