अाज विजयादशमी यसरी मनाइँदैछ


 


dashainकाठमाडौं,  कार्तिक ५

आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी पर्व मनाइँदैछ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार यस वर्ष महानवमी र दशमी(विजयादशमी) एकै दिन परेको छ । यस वर्ष विहान १०ः४५ बजे देवी विसर्जन र १०ः५५ बजे टीकाको शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।

असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ । दसैँका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ ।

दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ । रासस

प्रकाशित मिति: ५ कार्तिक २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्