विराटनगरमा मापसे परीक्षा दिन गएका सेवाग्राहीको प्रहरी कार्यालयमै मृत्यु
विराटनगर, माघ ११
मादक पदार्थ सेवन (मापसे) परीक्षा दिनका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा गएका एक सेवाग्राहीको शुक्रबार मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका ४ ईक्राहीका ४५ वर्षीय फणिन्द्र भनिने धु्रव खरेलको मृत्यु भएको हो । परिवारका अनुसार मापसे परीक्षा दिएर उनी प्रहरी नियन्त्रणमा रहेको आफ्नो सवारी चालक अनुमति पत्र (लाइसेन्स) र ब्लुबुक फिर्ता लैजाने योजनामा थिए । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाएको भन्दै प्रहरीले माघ २ गते उनको लाइसेन्स र ब्लुबुक नियन्त्रणमा लिएको थियो ।
मापसेका कारण सवारी दुर्घटना बढेको भन्दै मापसे गरेर सवारी चलाउने चालकको कागजपत्र नियन्त्रणमा लिएर मोरङ प्रहरीले चालकसंग लिखित परीक्षा लिने गरेको छ । मापसे गरेर सवारी चलाउँदा ट्राफिक नियम उल्लंघन गरेको कसूरमा ट्राफिक नीति नियमका बारेमा सोधिएका प्रश्नको उत्तर लिखित परीक्षामार्फत दिएर उत्तीर्ण गरेपछि मात्रै प्रहरीले सम्बन्धीत चालकलाई लाइसेन्स र ब्लुबुक लगायतका कागजपत्र बुझाउने गरेको छ । मापसे गर्ने चालकले परीक्षा दिएर उत्तीर्ण नभएसम्म कागजपत्र प्रहरीले नै राख्ने गरेको छ ।
मापसे गर्ने चालकको कागजपत्र नियन्त्रणमा लिएर सम्बन्धीत चालकले परीक्षा दिएपछि मात्रै ट्राफिक नियम अनुसार अन्य कारवाही गरेर प्रहरीले छाड्ने गरेको छ । मोरङ प्रहरी प्रमुखका रुपमा एसपी मनोजकुमार केसी आएपछि जिल्लामा प्रहरीले असोजदेखि यो नयाँ नियम लागू गरेको हो । यो नियम लागू गरिएपछि सवारी दुर्घटनामा कमी आउन थालेको प्रहरी दावी थियो । तर प्रहरी नियन्त्रणमा रहेका आफ्ना कागजपत्र निकाल्नका लागि मापसे परीक्षा दिन गएका चालकको प्रहरी कार्यालयमै मृत्यु भएपछि भने प्रहरीको काम कारवाहीप्रति प्रश्न चिन्ह खडा भएको बताइएको छ । सरकारी नीति नियम विपरित प्रहरीले आफू पपुलर हुनका लागि गरेको यस्ता कार्यक्रमको बैधानिकता बारेमा पनि प्रश्न उब्जिएको हो ।
‘प्रहरी कार्यालयमा पुगेका सेवाग्राहीको मृत्यु शंकास्पद छ । प्रहरीले लिने परीक्षाका बारेमा धेरै तनाव बेहोर्नु पर्दा यस्तो घटना हुन पुगेको हो,’ विराटनगर ४ का राजु पोखरेलले भने, ‘मापसे गरेर सवारी चलाउन रोक लगाउने निहँुँमा प्रहरीले धेरै सर्वसाधारणलाई दुःख दिइरहेको छ । मापसे गर्दैमा प्रहरी कार्यालयमा गएर लिखित परीक्षा दिनु पर्दा पनि सर्वसाधारणले धेरै तनाव बेहोर्नु परिरहेको छ ।’
पोखरेलले परीक्षा नदिए सम्म प्रहरीले कागजपत्र फिर्ता नगर्ने भएका कारण पनि मापसे गर्ने चालक परीक्षा दिन उपस्थित हुनै पर्ने बताए । प्रहरी कार्यालयमा पुगेर परीक्षा दिंदा प्रहरीबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भोग्नु पर्ने विभिन्न खाले यातना, परीक्षामा अनउत्तीर्ण हुँदा हुने पीडा, चिनजान र आफन्त कोही कसैले परीक्षा दिन गएको विषयमा थाहा पाउलान् भन्ने चिन्ता तथा जँड्याहा भनेर प्रहरीले गर्ने रुखो व्यवहार आदि सेवाग्राहीका लागि अपाच्य हुने उनको भनाइ छ । पोखरेलले यस्तै तनाव बढी लिएका कारण खरेलको मृत्यु भएको दावी गरे । उनले यस्ता कार्यक्रमको बैधानिकताका बारेमा पनि खोजी हुनु पर्ने बताए ।
‘प्रहरीले आफू पपुलर हुन कुनै नीति र नियम विनानै संचालन गर्ने कार्यक्रमले सर्वसाधारणसम्मको ज्यान लिइदियो,’ पोखरेलले भने, ‘पपुलर हुने नाममा यस्ता कार्यक्रम संचालन गर्नेमाथि कारवाही हुनु पर्छ ।’ मापसे गरेर सवारी चलाउँदा दुर्घटना हुने गरे पनि मापसे गर्ने चालकलाई सचेत गराउनु पर्ने र ट्राफिक नियम अनुसार जरिवाना लगायतका कारवाही हुुनु पर्ने सर्वसाधारणको माग छ । परीक्षाका नाममा भोग्नु पर्ने अनेक तनावले मान्छेको ज्यान जान नहुने आवाज पनि उठेको छ ।
प्रहरी नियन्त्रणमा रहेको आफ्नो सवारी चालक अनुमति पत्र (लाइसेन्स) र ब्लुबुक लिनका लागि पुगेका खरेल प्रहरी कार्यालय भित्रै बेहोस भएका थिए । प्रहरी कार्यालय भित्र रहेको प्रतिक्षालयमा बसिरहेका बेला एक्कासि बेहोस भएपछि उपचारका लागि खरेललाई कोसी अञ्चल अस्पताल विराटनगर पु¥याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।
श्रेष्ठले खरेलमा लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र मुटुको समस्या रहेको बताए । घरमा औषधि खान विर्सिएका कारण स्वास्थ्यमा समस्या आएर उनको मृत्यु भएको जानकारी परिवारका सदस्यले गराएको दावी प्रहरीको छ । ‘प्रहरी कार्यालयको प्रतिक्षालयमा बसिरहेको अवस्थामा असहज भएपछि खरेल त्यहीं रहेका अन्य व्यक्तिको सहयोगमा आराम गरिरहेका थिए,’ डीएसपी श्रेष्ठले भने, ‘अचानक बेहोस भएपछि भने उपचारका लागि अस्पताल लगिए पनि बचाउन भने सकिएन ।’
खरेलका आफन्त र स्थानीयले भने प्रहरीले लिने परीक्षा दिनका लागि प्रहरी कार्यालयमा पुगेपछि मृत्यु भएको बताउँदै आएका छन् । प्रहरीले भने घटनालाई ढाकछोप गर्ने प्रयास गर्दै परीक्षा दिनका लागि खरेल नआएको दावी गरिरहेको छ । डीएसपी श्रेष्ठले यस अघि नै परीक्षा दिइसकेर उत्तीर्ण भएइसकेका कारण आफ्ना कागजपत्र लिन खरेल आएका बेला घटना भएको बताए । तर मापसे गरेर चलाइएका सवारी साधनका चालकको कागजपत्र भने ट्राफिक प्रहरीको नियन्त्रणमा हुन्छ ।
परीक्षा मात्रै जिल्ला प्रहरी कार्यालयमा लिने गरिएको छ । विराटनगरमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय लगभग डेढ किलोमिटर टाढा छन् । चालकका कागजपत्र ट्राफिक प्रहरीसंग हुने र जिल्ला प्रहरी कार्यालयमा पुगेका बेला खरेलको मृत्यु भएपछि उनी परीक्षा दिनकै लागि गएको पुष्टि हुने बताइएको छ ।
प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार












