मोरङमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि तनाव


 


मोरङ, माघ १४

मोरङको सुन्दरहरैंचा नगरपालिका – ९ मा आज बिहान टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।विराटचौकबाट हरैंचातर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सुन्दरहरैंचा नगरपालिका – ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको आज बिहान मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईका अनुसार तीव्र गतिमा रहेको टिपरले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।

टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि आक्रोसित स्थानीयबासीले ठक्कर दिने टिपरसहित सो क्षेत्रमा गुड्ने आधा दर्जन टिपरमा आगजनी गरेका छन् । आगजनीबाट टिपरमा पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै अहिले स्थानीयबासीले विराटचौक – विराटनगर सडक खण्ड बन्द गरेर बेलेपुर र सिसौघारीमा प्रदर्शन गरिरहेका छन् ।

मृतक बालिकाको शव सडकमा राखेर टायर बालेर गरिएको प्रदर्शनका कारण त्यहाँको स्थिती तनावग्रस्त बनेको छ । ठुलो संख्यामा प्रहरी त्यस स्थानमा पुगेपनि स्थानीयबासीको भिड नियन्त्रण गर्न नसक्दा टिपरमा आगजनी भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीयबासीको प्रदर्शनले उग्ररुप लिएपछि बिहान पौने ११ बजेदेखि अर्काे आदेश जारी नभए सम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार बिराटचौकदेखी बिराटनगर आउने बेलेपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । स्थानीय बासिन्दाले टिपर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन गर्न थालेपछि त्यहाँको स्थिती असामान्य बनेको छ ।

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्