बालिकाको मृत्यु भएपछि टिपर जलाएकोमा व्यवसायी आन्दोलित
सुनसरी, माघ १५
कार्यालय समयको पिक आवरमा ट्रिपर सञ्चालन रोक लगाएको नियमलाई पूर्वाञ्चल ट्रिपर व्यवसायी सङ्घले नमान्ने बताएको छ । आज सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वाञ्चलका ट्रिपर व्यवसायीले सोमबार विराटचोकमा बालिकाको दुर्घटनामा मृत्यु हुँदा ट्रिपर जलाउनेलाई समेत कारवाहीको माग गरेका थिए ।
पत्रकार सम्मेलनमा आएका पत्रकारलाई खामबन्दी गरेर पैसा समेत बाँडेका ट्रिपर व्यवसायीले सरकारले बिहान २ घण्टा र बेलुकी २ घण्टा ट्रिपर चलाउन नपाइने भनी गरेको निर्णय कार्यान्वयन गर्न नसकिने बताएका हुन् । पत्रकार सम्मेलन सकिएपछि बाहिर निस्कसकेका पत्रकारलाइ रकम बाँडिएको थियो ।
ट्रिपर व्यवसायी सङ्घका एक सदस्यले आएका प्रायः पत्रकारलाइ यातायात खर्च भन्दै २ हजार रुपैयाँ नगद राखिएको खाम बाँडेका थिए । ‘पत्रकार साथीहरूले कहिलेकाहीँ अलि कस्तोकस्तो लेख्नुहुन्छ । अलिकति ट्रिपर व्यवसायीको पीडा पनि बुझ्नुपर्छ’, व्यवसायी सङ्घका अध्यक्षले गोपाल कार्कीले भने, ‘राजमार्ग भनेको निर्बाध सवारीसाधन गुडाउने ठाउँ हो करोडौं लगानी गरेर ल्याएको ट्रिपर कसरी थन्क्याएर राख्नु, यो कुरा साथीहरूले बुझिदिनुपर्दछ ।
सोमबार मोरङको विराटचोकमा ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि ट्रिपरमाथि आगजनी भएको विषयमा सङ्घले आन्दोलन गर्नेसमेत बताइएको थियो ।
प्रकाशित मिति: १५ माघ २०७५, मंगलबार












