प्रधानमन्त्री ओली आउने भएपछि दमकमा सुरक्षा सतर्कता
झापा, माघ १५
यहि माघ १७ गतेदेखि दमकमा हुने बृहत बाल महोत्सवको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएपछि सुरक्षा सतर्कता बढाइएको छ।
प्रधानमन्त्री ओलीले महोत्सव उद्घाटन गर्ने भएकाले यसको तयारीमा प्रशासनिक तथा सुरक्षा संयन्त्रसमेत परिचालित भएको छ। यसैबीच प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली माघ १७ गते बिहान साढे ११ बजे दमक आइपुग्ने छन्। ओलीको सचिवालयका विकास निर्माण संयोजक होमबहादुर थापाका अनुसार दमकमा आयोजीत बाल महोत्सवको उद्घाटनपछि उनी कमल–३ को शहीद धर्मभक्त माविमा हुने स्वर्ण महोत्सव समारोहमा पुग्ने छन्। त्य
हाँ उनी १ देखि २ बजेसम्म रहने छन् भने अपह्रान्ह ३ बजे भद्रपुरस्थित मेची नदीको पुल उद्घाटन गर्ने कार्यतालिका छ। सोही दिन साँझ ५ बजे उनले भद्रपुर बिमानस्थलबाट हुने रात्रिकालीन उडानको उद्घाटन गर्ने जनाइएको छ। कार्यक्रमस्थलको निरीक्षण बाल महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएपछि यसप्रति सुरक्षा निकायले पनि चासो देखाएको छ। सोही क्रममा मंगलबार प्रदेश १ का आन्तरीक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, प्रदेश प्रहरी प्रमुख केदार रिजाल, झापा प्रहरी प्रमुख भीमप्रसाद ढकाल, प्रदेश ट्राफिक प्रहरी प्रमुख रवीकुमार पौडेललगायतले कार्यक्रमस्थल दमक–९ को सरस्वती माविको प्रांगण अवलोकन गरेका छन्।
सो क्रममा उनीहरूले महोत्सव तयारीको अवस्था, उद्घाटन कार्यक्रमको तालिका लगायतका बारेमा जानकारी लिएका छन्। उनीहरुलाई नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख तथा बालमहोत्सव मूल समारोह समिति संयोजक गीता अधिकारीलगायतले हालसम्मको तयारीको अवस्था, उद्घाटन कार्यक्रम लगायतका बिषयमा जानकारी गराएका थिए। दमक नगरपालिकाको आयोजनामा हुने महोत्सवको सवै तयारी पूरा भएको पनि आयोजकले जनाएको छ।
प्रकाशित मिति: १५ माघ २०७५, मंगलबार












