यी हुन अख्तियारकाे छानबिनमा परेका ठुला माछा


 


काठमाडाै, मंसिर २०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘अकुत (स्रोत नखुलेको) सम्पत्ति आर्जन गरेको शंकामा’ १२ पूर्वमन्त्री र तीन बहालवाला सचिवसहित २९ जना प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु गरेको छ । अख्तियारले सबै बैंकलाई २९ जना सबैको लकरहरू आइतबारसम्म बन्द गर्नसमेत निर्देशन दिएको छ ।

लकर बन्द गर्न आदेश दिइएका व्यक्ति २९ जना भए पनि छानबिनको दायरा अरू पनि रहेको स्रोतको दाबी छ । अख्तियारले २९ जनालाई कुनै विषय नखुलाई सात दिनभित्र आयोगमा बयान दिन बोलाएको छ ।

छानबिनमा पर्ने पूर्वमन्त्रीहरूमा एमाओवादी महासचिव कृष्णबहादुर महरा, एमालेका नेताहरू राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, वंशीधर मिश्र, ल्हारक्याल लामा, मालेकी नेतृ नीलम केसी खड्का, विद्याधर मल्लिक, रामकुमार श्रेष्ठ, छविराज पन्त, शंकर कोइराला, उमाकान्त झा, टेकबहादुर थापा घर्ती छन् । अकुतको छानबिनमा परेका १२ पूर्वमन्त्रीमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको चुनावी मन्त्रिपरिषद्का मात्रै ६ जना छन् ।

यस्तै बहालवाला सचिवमा स्वास्थ्यका शान्तबहादुर श्रेष्ठ, सिँचाइका अनुपकुमार उपाध्याय र कृषिका उत्तमकुमार भट्टराई परेका छन् । पूर्वमुख्य सचिव भोजराज घिमिरे, बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, नेपाल प्रहरीका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख नायब महानिरीक्षक विजयलाल कायस्थ, पूर्वमहानिरीक्षक एवं एमाओवादी सांसद रवीन्द्रप्रताप शाह, प्याब्सन र एन–प्याब्सनका पूर्वअध्यक्ष एवं सांसदत्रय बाबुराम पोखरेल, उमेश श्रेष्ठ र गीता राणालाई अख्तियारले बयानका लागि बोलाएको छ । पोखरेल भीएस निकेतन, श्रेष्ठ लिटिल एन्जेल्स र राणा ग्यालेक्सी स्कुलका सञ्चालक हुन् ।

संविधानमा अख्तियारले सार्वजनिक पद धारण गरेका या गरिसकेका व्यक्तिहरूमाथि पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको शंकामा अनुसन्धान, तहकिकात गरी कैफियत भेटिएमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर गर्न पाउने तर, सार्वजनिक पद (राज्यको लाभको पद) मा नरहेका व्यक्तिमाथि अख्तियारले छानबिन गर्न पाउने संवैधानिक व्यवस्था छैन । छानबिनमा परेका पूर्व र वर्तमान सांसदलाई भने निर्वाचन क्षेत्र कार्यक्रमको रकम दुरुपयोगमा अख्तियारले छानबिन गरेको हुनसक्ने संसद् सचिवालय स्रोतले उल्लेख गरेको छ ।

कोको परे ?
१.    राजेन्द्र पाण्डे, पूर्वमन्त्री
२.    सुरेन्द्र पाण्डे, पूर्वमन्त्री
३.     विद्याधर मल्लिक, पूर्वमन्त्री
४.     रामकुमार श्रेष्ठ, पूर्वमन्त्री
५.     छविराज पन्त, पूर्वमन्त्री
६.     शंकर कोइराला, पूर्वमन्त्री
७.     उमाकान्त झा, पूर्वमन्त्री
८.     टेकबहादुर थापा घर्ती, पूर्वमन्त्री
९.     कृष्णबहादुर महरा, पूर्वमन्त्री
१०.     ल्हारक्याल लामा, पूर्वमन्त्री
११.     वंशीधर मिश्र, पूर्वमन्त्री
१२.    नीलम केसी खड्का, पूर्वमन्त्री
१३.     उत्तमकुमार भट्टराई, कृषि सचिव
१४.     शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सचिव
१५.     अनुपकुमार उपाध्याय, सिँचाइ सचिव
१६.     रवीन्द्रप्रताप शाह, सांसद/पूर्वआईजीपी
१७.     इच्छाराज तामाङ, सांसद/व्यवसायी
१८.     जनार्दन ढकाल, सांसद
१९.     विक्रम पाण्डे, सांसद/व्यवसायी
२०.     उमेश श्रेष्ठ, सांसद/स्कुल सञ्चालक
२१.     गीता राणा, सांसद/स्कुल सञ्चालक
२२.     बाबुराम पोखरेल, सांसद/स्कुल सञ्चालक
२३.     विजय पौडेल, एमालेका पूर्वसांसद
२४.    राजेन्द्रसिंह भण्डारी, एआईजी
२५.     विजयलाल कायस्थ, डीआईजी
२६.     भोजराज घिमिरे, पूर्वमुख्य सचिव/ पूर्वराजदूत
२७.     कनकमणि दीक्षित, साझा यातायातका अध्यक्ष एवं हिमाल मिडियाका प्रकाशक
२८.    गोपालबहादुर खड्का, आयल निगमका कार्यकारी निर्देशक
२९.     राजकुमार अग्रवाल, व्यवसायी

प्रकाशित मिति: २० मंसिर २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्