जापानले कामदार लैजाने भन्ने हल्लाका भरमा जापानिज भाषा सिक्ने लहर


 


काठमाडौं माघ २४
जापानले सरकारीस्तरबाट नेपाली कामदार लैजानेबारे प्रारम्भिक छलफल भए लगत्तै भाषाको ‘खेती’ सुरु भयो । अहिले जापान जाने चाहनामा भाषा सिक्नेको लहरै चलेको छ । तर, कामदार आपूर्तिबारे दुई देशबीच ठोश सहमति भएको छैन । हल्लै–हाल्लको पछि लाग्ने प्रबृत्ति जापनिज भाषा सिकाईमा पनि देखिएको छ ।

पुस अन्तिम साता जापानी विदेशमन्त्री तारो कनो नेपाल आएका बेला नेपाली कामदार लैजानेबारे दुई देशबीच छलफल भएको थियो । त्यसैलाई आधार मानेर जापानले पनि दक्षिण कोरियाले जस्तै भाषा परीक्षा लिएर कामदार लैजाने ‘हल्ला’ भयो । त्यही ‘हल्ला’ बढ्दै जाँदा यतिबेला काठमाडौंमा जापनिज भाषा सिक्ने लहर चलेको छ ।

काठमाडौका बागबजार, चाबहिल, नयाँ बसपार्क, कलंकीलगायत स्थनमा रोजगारीका लागि जापान जानेका लागि भन्दै इन्सिच्युटहरुले मापदण्ड र पाढ्यक्रम विना नै भाषा कक्षा चलाइ रहेका छन् । शुल्क पनि मनोमानी छ ।

‘वेसिक कोर्स’का लागि १० देखि २५ हजारसम्म लिइन्छ । भाषा परीक्षा उत्तीर्ण गर्न कति अंक ल्याउनु पर्ने हो भन्नेसमेत जानकारी छैन ।

सरकारी स्तरमा निर्णय नभएकाले भाषा अध्ययन गर्नेलाई जापानले कसरी कामदार लैजान्छ भन्ने जानकारी नहुनु स्वभाविकै हो । हल्लाकै पछाडि लागेर भाषा सिकिरहेका अधिकांश तत्काल प्रक्रिया सुरु भएर जापान गइन्छ भन्नेमा विश्वस्त छैनन् । लहलहै र इन्स्टिच्युटको आश्वासनले बढी काम गरेको छ ।

जुनसुकै भाषा सिक्नु त राम्रो हो । तर, सरकारी स्तरबाटै जापान पठाउने निश्चित भयो भने पनि यस्तो सिकाईको निश्चित मापदण्ड र पाठ्यक्रम पक्कै बन्ने छ । यसरी हल्लै हल्लाको भरमा इन्स्टिच्युटहरुको कमाई बढाइदिने मात्रै हो भने भोलि आउने मापदण्ड पूरा गर्न नसक्दा भाषा सिकेकामा निरासा बढ्न सक्छ ।

प्रकाशित मिति: २४ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्