इनरुवामा अधिकांश बालबालिका छन् कुलतको चपेटमा ….


 


इनरुवा फागुन ३
भनिन्छ लागेको लत छुटाउन गाह्रो पर्छ । त्यसमा पनि बाल्यावस्थाबाटै लागेको बानी भविष्यकालागि घातक बन्न सक्छ । समाजमा अपराध निम्त्याउन दुर्व्यसनी प्रमुख कारक मानिन्छ । सानै उमेरदेखि बालबालिका कुलतमा लागे त्यसले भविष्यमा अपराध जन्माउन सक्ने तर्फ अभिभावक बेलैमा सचेत हुन जरुरी छ । इनरुवाको वडा नम्वर ३ मा रहेको सिकदार टोल । महेन्द्रचोकमा रहेको सिकदार टोल जसलाई आम बुझाई र बोलीचालीको भाषाका बख्खे टोल भनेर चिन्ने गरिन्छ ।

बख्खे टोल राम्रो भन्दापनि नराम्रो प्रसंगसँग जोडेर चर्चा र परिचर्चामा आउने गर्छ । छरछिमेकसँगै इनरुवा क्षेत्रमा कुनै चोरीजन्य प्रकृतिका घटना भए सबैको बुझाईमा पहिलो आशंका बख्खे टोलतर्फ इङ्गित हुने गर्छ । टोलका ठुलाबडा हुन या बालबालिका । त्यसतर्फ केन्द्रित हुँदै आएको स्थानीयको शंका र आरोप अझसम्म पनि यथावत नै छ ।

विगतका तुलनामा बख्खे टोलको दिनचर्या केही फेरिएको भने पक्कै छ । यद्यपी चोरी सहित स्थानीय तहमा हुने गरेका घटनामा अझैपनि सो टोलका बालबालिका सहित युवा जमातको संलग्नता भेटिदै आएको छ ।

एकै परिवारमा ४ देखि ५ जनासम्म बालबालिका लगभग सबैजसो परिवारमा छन् । ६० देखि ७० घरधुरीमा बसोबास गर्दै आएका सिकदार बख्खे टोलमा झैझगडा सामान्यझैं मानिन्छ । बालबालिकाहरुको पढाईमा भन्दा पनि घुमन्ते रुपमानै दैनिकी कट्छ । विपन्न वर्ग भएकाले समेत अभिभावकहरुको दैनिकी गुद्री सहितका बजारमा खसी तथा कुखुरा काटेर मासु बेच्नमा नै बित्छ । अभिभावकको वेवास्ताका कारण समेत अधिकांश बालबालिका कुलतमा लागेका छन् भन्दा अपत्तयारिलो नहोला ।

सानै उमेरबाट बालबालिका नसालु पदार्थ सेवनमा तल्लिन हुने गरेकाले समेत बेलाबखत उनिहरु चोरीसँगै झैझगडा र कुटपिटजस्ता घटनामा संलग्नताको आधारमा पक्राउ पर्ने समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले समेत सो टोलका बालबालिका सहित युवा दुर्व्यसनीमा लागेको पाइएको र अपराधका घटनामा संलग्न हुँदै आएको उदाहरणहरु प्रशस्त रहेको बताउँछ ।

यिनै कुरालाई हृदयङ्गम गर्दै बालबालिकाको यर्थाथ अवस्थालाई चित्रण गर्दै सुधारको पहलमा शान्तिदीप नेपालले अभिभावक सचेतनाको अभियान संचालनमा ल्याएको छ । अभिभावकमा सचेतना बेगर कुलत तर्फ उन्मूख बालबालिकाको सुधारको पहलकदमी सफल नहुने भएकाले घरदैलोमा जुटेको शान्तिदीपले सचेतना मूलक कार्यक्रमलाई अघि बढाएको जनाएको छ ।

कार्यक्रम आयोजना गर्न लाग्दै गर्दाका दौरान देखिएको दृष्यले समेत बख्खे टोलको यथार्थपरक वर्तमानलाई उजागर गरेको प्रष्ट हुन्थ्यो । कार्यक्रमकालागि प्रहरी पुग्दा टोलमा भागाभागनै मच्चियो । बालबालिका मात्र नभएर युवा र स्वयं अभिभावकहरुनै प्रहरीको नजर छल्न प्रयासरत देखिन्थे । आफुहरु मध्ये कसैलाई पकड्न आयो होला भन्ने त्रासमा देखिन्थे टोलबासी ।

समुदाय प्रहरी साझेदारी अभियानसँगको सहकार्यमा थालिएको अभिभावक सचेतना कार्यक्रमको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पोखरेल, समुदाय प्रहरी साझेदारी कार्यक्रमका सहजकर्ता शिवकुमार शर्मा, संस्थाका अध्यक्ष शुभास राई सहित वडा नम्वर तीनका निर्वाचित जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

पर्चा पमप्लेट वितरणसँगै अभिभावक सचेतनामूखी कार्यक्रमलाई निरन्तरता दिइने शान्तिदीप नेपाल इनरुवा सुनसरीका अध्यक्ष सुभास राईले बताए । बख्खे टोल भनेर चिनिदै आएको सिकदार टोलको परिभाषा बदल्दै कुलततर्फ उन्मूख बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन अभिभावक सचेतना कार्यक्रम प्रभावकारी हुने राईको ठहर छ । स्थानीय अभिभावक समेत नयाँ सोचकासाथ थालिएको अभियानले निरन्तरता पाए समृद्ध समाजको परिकल्पना साकार हुने बताउँछन् ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्