भ्रामक विज्ञापन हटाउन विज्ञापन बोर्डको निर्देशन
काठमाडौँ, ४ असार । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन र भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ। यस्ता विज्ञापन प्रसारण गरेको पाइएमा कानुनी कारबाही गरिने बोर्डले जनाएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि बोर्डले सार्वजनिक सूचना जारी गर्दै आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य सामग्रीको विज्ञापन रोक्न आग्रह गरेको हो।
बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार कपाल उमार्ने, बोसो घटाउने, मिर्गौला सफा गर्ने, हड्डी तथा नसासम्बन्धी रोग निको पार्ने जस्ता दाबी गरिएका सामग्रीको भ्रामक प्रचारबारे उजुरी परेका छन्। यस्ता विज्ञापनले सर्वसाधारणलाई भ्रममा पार्नुका साथै आर्थिक ठगी र स्वास्थ्य जोखिम बढाएको बोर्डको निष्कर्ष छ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा अन्य प्रचलित कानुनविपरीतका विज्ञापन प्रकाशन वा प्रसारण नगर्न विज्ञापनदाता, एजेन्सी, उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म सञ्चालक र सामाजिक सञ्जाल प्रयोगकर्तालाई बोर्डले सचेत गराएको छ।
बोर्डले चिकित्सकको सिफारिसमा मात्र बिक्री हुने औषधिको समेत भ्रामक विज्ञापन भइरहेको जनाएको छ। यस्ता विज्ञापन देखिएमा विज्ञापन बोर्डमा उजुरी गर्न उपभोक्तालाई आग्रह गरिएको छ। प्राप्त उजुरीका आधारमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने बोर्डले जनाएको छ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार












