रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय बनाउने प्रस्ताव
काठमाडौँ, ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको विधान संशोधन गरी केन्द्रीय समिति १५१ सदस्यीय बनाउने प्रस्ताव तयार गरेको छ।
पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रदेश समितिका सभापतिलाई पदेन केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने प्रस्ताव पनि गरिएको बताए।
बैठकले महाधिवेशनअघि आवश्यकताभन्दा बढी प्रचारप्रसार भएको भन्दै पार्टीको निर्वाचन आचारसंहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन दिएको छ। साथै सातै प्रदेशको अधिवेशनबारे समीक्षा गरिएको जनाइएको छ।
रास्वपाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रयोग गर्ने तयारी गरेको छ। महामन्त्री बुर्लाकोटीका अनुसार महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
चितवनमा असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनमा करिब तीन हजार प्रतिनिधिको सहभागिता रहने पार्टीले जनाएको छ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार












