वास छ, लालपुर्जा छैन !


 


काठमाडौं फागुन ४
हिक्मत बहादुर नेपाली, दुल्लु । सदरमुकाम दैलेख बजारदेखि ६ किलोमिटरको दूरीमा रहेको पञ्चकोसी तीर्थस्थलमध्येको प्रशिद्ध धार्मिक स्थल हो श्रीस्थान । दैलेख बजार श्रीस्थान सडक खण्डको पुछारको छेउमै रहेको कुईकानाको रातामाटे दलित बस्ती । यही सडकखण्ड भएर दिनहुँ जसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । सडकको छेउमै रहेको लालपुर्जाविहीन सुकुम्वासी दलित बस्तीमा दिनहुँजसो ओहोरदोहोर गर्ने गरे पनि उनीहरूको ध्यान भने पुग्न सकेको छैन । नारायण नपा–१ कुईकानास्थित रातामाटेमा बसोवास गर्दैआएका दलित वस्तीसँग लालपुर्जा भने छैन । लालपुर्जा नहुँदा यो वस्तीमा न खानेपानी छ, न बिजुली बत्ती । यो बस्तीका नागरिकहरूको दैनिकी रात अन्धकारमा दिन अरूको मजदुरीमा बित्ने गरेको छ ।

ं २०२८ सालमा दैलेखको साविक कुसापानी गाउँ विकास समिति (हाल भैरवी गाउँपालिका) को डाडासरुबाट तीन घरपरिवार त्यहाँ आइबसेका थिए । तत्कालीन सरस्वती गाउँ पञ्चायतका प्रधानपञ्च नरबहादुर केसीले त्यहाँबाट तीन घर दलितलाई रातामाटेमा ल्याई बसालेका थिए । सरुबाट आएका रविलाल दमाई, अमृत दमाई र हरिलाल दमाई ऐलानी जग्गामा घर बनाएर बसे । उनले ती दलितलाई त्यहाँ ल्याएर राखे तर, उनीहरूको नाममा कुनै जमीनको कुनै कागज बनाई दिएनन् । तत्कालीन प्रधानपञ्चले उनीहरूको नाममा जग्गाको कागज नबनाई दिएकाले अहिले ती दलितका नातिहरूले दुःख भोगिरहेका छन् । श्रीस्थान वन उपभोक्ता समितिको क्षेत्राधिकारभित्र रहेको बस्तीमा अहिले स्थायी लालपुर्जा नपाएका ३२ घर दलित परिवार बस्दै आएका छन् । उनीहरू त्यहाँ आइबसेको ४७ वर्ष पुग्यो । तीन घरबाट फैलिएर ३२ परिवार भएको यो बकस्ती करिब आधा शताब्दीदेखि भू–स्वामित्वविहीन छ । उनीहरूको न राम्रो बस्ने वास छ, न मिठो खाने गाँस नै छ । पुर्खाको पालादेखि यो प्रक्रिया निरन्तर चलिरहेको छ ।

बस्तीमा बसोवास गर्दै आएका एक हुन् लालबहादुर नेपाली । उनी ४५ वर्षका भए । ‘लालपुर्जा पाउने आशमा यहाँका जमिन्दारको हलो जोत्यौं, भारी बोक्यौं, लालपुर्जा पाउनु त कहाँ हो कहाँ, उल्टो यही समाजको थिचोमिचो सहेर बसेका छौं,’ लाल बहादुरले भने ।

स्थानीय सन्तु नेपालीले वर्षात्को समयमा घरभित्रै पानी पस्ने र हिउँदमा बालबच्चा कठ्यांग्रिएर हैरान हुने गरेको बताए । ‘आफ्नो नाममा जग्गा भएको भए खेती किसानी गरेर दैनिकी गुजार्न सकिन्थ्यो,’ सन्तुले भने । वनभित्र रहेको जग्गामा बस्दै आएका उक्त दलित बस्तीका पुरुषहरू सदरमुकाम पुगेर ज्याला र मजदुरी गर्छन् । महिलाहरू घरधन्दामा व्यस्त रहन्छन् । पचासको दशकमा भएको नापीमा ती दलितले जग्गा नाप्ने प्रयास गरे पनि विवादका कारण उनीहरूले जग्गाको लालपुर्जा पाउन सकेनन् । नापी हुँदा कुईकानावासीले वनको जग्गा नाप्न नपाइने बताएपछि ती दलितको लालपूर्जा बन्न नसकेको हो ।

‘नापी हुँदा ठूलाबडाले आफूहरूको जग्गा नापी गराए, हाम्रो जग्गाको कसैले वास्ता नै गरेनन्, गएको पुसमा त वन कार्यालयले आएर घर नै भत्काइदियो,’ स्थानीय लक्ष्मी नेपालीले भने । जग्गा आफ्नो नहुँदा वनबाट दाउरा घाँससमेत ल्याउन नपाएको रातामाटेको सोही ठाउँकी दिलमाया नेपाली दुःखेसो पोखिन् । ‘हाम्रा पुर्खाहरूले गरेको गल्तिको सजाय अहिले हामी भोगिरहेका छौँ,’ उनी भन्छिन् । छाक टार्नकै लागि भए पनि अरुको काम गरेर बस्नुको विकल्प नभएको उनको भनाइ छ । ‘सासू ससुरा मर्नु अघि लालपुर्जा पाउने आश गर्नुहुन्थ्यो, अहिले हामी पनि त्यही आशै आशमा दिन बिताउन बाध्य छौँ,’ उनले भनिन् ।

२०२८ देखि बसोवास गर्दै आएका उक्त दलित समुदायका नागरिकहरूको प्रत्येक संसदीय निर्वाचनमा उम्मेदवारसँग एउटै बोली हुन्छ –‘हामीलाई जग्जाधनी लालपुर्जा खोई ? हामी यहाँ आएर बसोवास गर्न थालेको ४७ वर्ष पुग्यो ।’ यस बीचमा आठ वटा संसदीय निर्वाचन भए । ‘सबै निर्वाचनमा नेताहरूले लालपुर्जा दिने आश्वासन मात्रै दिन्छन् तर, काम भने गर्दैनन्,’ स्थानीयवासी सन्जु नेपालीले भने । ं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेले जारी गरेको २८ बुँदे घोषणापत्रको बुँदा नं ७ मा भूमिहीन रातामाटे दलित वस्तीका बासिन्दालाई लालपुर्जा दिलाइदिने उल्लेख छ तर, निर्वाचन सम्पन्न भएको दुई वर्ष बित्नै लाग्दा समेत कुनै पहल थालिएको छैन ।

कुनै दलले धनीपुर्जा दिलाइदिने आशा नभएकैले दलित वस्तीका अधिकांशलाई चुनावसँग कुनै सरोकार नभए झैं लाग्छ । चुनावका बेलामा जुनसुकै राजनीतिक दलका नेताहरूको मुख्य एजेण्डा भनेको नै त्यहाँका नागरिकलाई लालपुर्जा दिलाउने हुने गर्छ । निर्वाचन सकिएपछि भने विस्तारै वर्ष ढल्कदै जान्छन्, समस्या समाधानका लागि कसैले पहल गरेका देखिएको छैन ।

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्