निजी क्षेत्रलाई अपराधीझैँ व्यवहार नगर्न कांग्रेस सभापति थापाको आग्रह



काठमाडौँ, २१ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधीसरह व्यवहार गरिरहेको आरोप लगाएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले आर्थिक अपराधविरुद्ध सरकारले कानुनी प्रक्रियाअनुसार अघि बढाएको कारबाहीलाई कांग्रेसको पूर्ण समर्थन रहेको बताए। तर, केही व्यक्तिको गल्तीका आधारमा सम्पूर्ण निजी क्षेत्रलाई ठगी गर्ने समूहका रूपमा प्रस्तुत गर्नु उचित नभएको उनको भनाइ थियो।

सभापति थापाले सुशासन कायम गर्न र आर्थिक अपराधमा संलग्न जोसुकैलाई कानुनअनुसार कारबाही गर्न कांग्रेस सधैँ सरकारको पक्षमा रहने स्पष्ट पारे। त्यसका लागि व्यक्ति, नेता वा नातागोताको आधारमा कुनै भेदभाव गर्न नहुने उनले बताए।

तर, सरकारले अपनाएको कार्यशैलीका कारण निजी क्षेत्र त्रसित बनेको उनको आरोप थियो। निर्माण व्यवसायी, बैंकरलगायत निजी क्षेत्रका व्यक्तिलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्तिले लगानी र उद्यमशीलतामा नकारात्मक असर परेको उनले बताए।

मुलुकमा भयको वातावरण सिर्जना भएकाले नयाँ व्यवसाय सुरु गर्नसमेत मानिसहरू हिच्किचाइरहेको उनको भनाइ थियो। सरकारले साना, मझौला तथा ठूला लगानीकर्तामा समेत आत्मविश्वास जगाउन नसकेको भन्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न सरकारसँग आग्रह गरे।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्