‘लुट्न सके लुट् कान्छाका गायक शर्मालाई तरुण दलले सम्मान गर्ने


 


काठमाडौं फागुन ६
नेपाल तरुण दलले गायक पशुपति शार्माको गीत ‘लुट्न सके लुट् कान्छा’ बोलको गीतलाई सरकारले आफ्ना कार्यकर्ता लगाएर धम्की दिएको भन्दै आक्रोश व्यक्त गरेको छ ।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले सोमबार बिहान विज्ञप्ति जारी गरेर सरकारले कार्यकर्ता लगाएर गायकलाई धम्की दिएको विषय निन्दनीय रहेको बताए । उनले गायक शर्माको गीत बन्द गराउने कार्यको तरुण दलले घोर भर्त्सना गरेको बताएका छन् ।

सरकारको यो रबैयाले जनताको बोल्न पाउने, आफ्नो बिचार राख्न पाउने, कुनै पनि रचना तथा सृजना गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संबैधानिक अधिकारको समेत हनन् भएको छ’, महासचिव शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘गीत संगीत र जनताको आवाज रोक्ने अधिनायकवादी सरकार नालायक साबित भएको छ’, तरुण दलको विज्ञप्तिमा भनिएको छ, ‘साँच्चिकै यो ओली सरकार लुटेरा प्रमाणित भएको छ ।

‘नेपालमा पशुपतिलाई जसले अपमान गर्छ उ आफै सकियको इतिहाँस छ’, शाहीले भनेका छन्, ‘आज नागरिकले भोग्नु परेको परिस्थितिलाई शब्दमा उतारेर गाइएको यो गीतको सम्मानमा गायक पशुपति शर्मालाई तरुण दलको सम्पूर्ण साथ रहनेछ ।’

तरुण दलले जनताको मन छुने गीत बनाएकोमा गायक शर्मालाइ सम्मान गर्ने पनि जनाएको छ ।

त्यसपछि गायक शर्माले ‘लुट्न सके लुट् कान्छा’ बोलको गीत युट्युबबाट हटाएका थिए । गीत हटेपछि गायक शर्माको समर्थनमा सरकारको आलोचना भएको थियो ।

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्