१ किलो ७ सय ग्राम सुनसहित पक्राउ परेका वडाध्यक्ष जेल चलान


 


लहान – सुनसहित पक्राउ परेका लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका छन्। एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका उनीहरूलाई शुक्रबार पुर्पक्षका लागि सिरहा कारागारमा राखिएको हो। राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वडाध्यक्ष मियाँसँगै मोहम्मद रहमान, मोहम्मद अफरोज, मोहम्मद अमिरुल, मोहम्मद कैयुम र मोहम्मद रियाजलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको से्रस्तेदार(रजिस्ट्रार) नरेन्द्र श्रेष्ठले जानकारी दिए। यो खबर नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ। खबर मिथिलेश यादवले लेखेका हुन्।

सशस्त्र प्रहरीको टोलीले पुस २८ गत्ते पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट एक किलो सात सय ५७ ग्राम सुनसहित वडाध्यक्ष हकिम मियाँसहित ६ जनालाई पक्राउ गरेको थियो। कतारबाट लुकाईछिपाई ल्याइएको सुन लिएर बीआर ३२ पिए ४६४४ नम्बरको स्कार्पियो जिप लहानतर्फ आउँदै गरेको सूचना प्राप्त भएपछि घुर्मी खोलामा आइपुग्दा सशस्त्र प्रहरीको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका ६ जनालाई सुनसहित कारबाहीका लागि पूर्वक्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको थियो। राजस्व चुहावट र विदेशी विनिमय अपचलन मुद्दामा अनुसन्धान गरेर राजस्वले मिसिल जिल्ला अदालत सिरहा पठाएको थियो। कार्यालय प्रमुख वेद फुुयाँलले भने, ‘हामीले मुद्दा अनुसन्धान गरेर कारबाही आदेशका लागि जिल्ला अदालत सिरहामा मिसिल पठायौं। अदालतले शुक्रबार आदेश दिएको हो।’

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्