देश निर्माणमा जुट्न निजी क्षेत्रलाई मुख्यमन्त्री राईको आग्रह


 


विराटनगर, फागुन २४
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश निर्माणमा जुट्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । मोरङको कटहरीस्थित सप्तकोशी सिमेन्ट उद्योगको उद्घाटन गर्दे मुख्यमन्त्री राईले निजी क्षेत्रलाई यस्तो आग्रह गर्नुभएको हो ।

यतिबेला राष्ट्र निर्माणको अभियान छ मुख्यमन्त्री राईले भन्नुभयो, विकास र समृद्धिको एजेण्डालाइ सहयोग गर्न म निजी क्षेत्रलाई आग्रह गर्दछु । सबै क्षेत्रमा ठूला सपना देख्नेको खाँचो रहेको भन्दै उहाँले प्रदेशको विकासमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

प्रदेश बनाउनु छ, म तपाईहरुलाइ लगानी गर्न आग्रह गर्दछु किनभने तपाईहरुको साथमा सरकार छ । निजी क्षेत्र र हामी सँगसँगै अगाडि बढौ, मुख्यमन्त्री राईले भन्नुभयो हामी उपयुक्त नीतिहरुका साथमा लगानीको वातावरण बनाउँछौं । उहाँले निजी क्षेत्रलाई अभिन्न र अनिवार्य अंग बनाएर अगाडि बढ्ने जानकारी दिनुभयो ।

ठूलो सोच र साहसका साथ उद्योग स्थापना गरेर सिमेन्ट बजारमा ल्याएको भन्दै मुख्यमन्त्री राईले लगानीकर्ताहरुको प्रशंसा गर्नुभयो । राष्ट्र निर्माणमा सामाजिक उत्तरदायित्व बहन गर्दे गुणस्तरिय सिमेन्ट उत्पादन गर्न उहाँले आग्रह गर्नुभयो ।

सिमेन्ट उद्योगले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उहाँको भनाई थियो । हामीले धेरै भन्दा धेरै पूर्वाधार निर्माणको काम गर्नुछ, उहाँले भन्नुभयो पूर्वाधार निर्माणमा सिमेन्ट अत्यावश्यक वस्तु हो ।

प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्