लुटेराहरुले धम्क्याएपनि चन्दा नदिन जनप्रतिनिधिलाई निर्देशन
काठमाडौं फागुन ३०
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भएको स्पष्ट पारेका छन् ।
उनले भने, “पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रष्तुत गरेर हिड्नेहरुले अहिले यसको बिरोध गरेका छन् ” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले लुटपाट गर्ने समुहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरे । “लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान् ,चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस” प्रधानमन्त्री ओलीले भने “लुटेरा प्रवृतिले देशको विकास हुँदैन । यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन ।”
प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह गरेका छन् ।
नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डग्मगायो भने जनताको जनप्रतिनिधिमुलक संस्था माथिको विस्वास पनि डग्मगाउने बताए । “जनप्रतिनिधिमुलक संस्थाप्रति जनताको विस्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ ” प्रधानमन्त्री ओलीले भने “त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ । ”
प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभूल्न पनि जनप्रतिनिधिलाई सम्झाउनु भएको छ । “अवसरहरु सक्षम र गरिबलाई दिनुहोस् आफ्ना छोराछोरीलाई होइन ” प्रधानमन्त्री ओलीले भने “निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन मतदातालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।”
प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका बिषयमा नगरपालिका संघ,गाउँपालिका महासंघ र जिल्ला समन्वय समिती महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिकाका असल अभ्यास नामको पुस्तक बिमोचन गरेका थिए ।
प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार












