सूचनाको हकको संरक्षण सरकारको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री तिमिल्सिना



काठमाडौँ, २३ असार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हकको संरक्षण र प्रवर्द्धन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

सोमबार सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका पदाधिकारी तथा केन्द्रीय सदस्यसँगको भेटमा उनले सूचनाको हकसम्बन्धी ऐन, २०६४, नियमावली, २०६५ तथा अन्य कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै यस क्षेत्रलाई थप सुदृढ बनाइने बताए।

उनको भनाइमा सरकारले सुशासनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको छ। सूचनाको हकलाई भ्रष्टाचार न्यूनीकरण र पारदर्शिता प्रवर्द्धनको प्रभावकारी माध्यमका रूपमा उपयोग गरिने उनले बताए।

मन्त्री तिमिल्सिनाले राष्ट्रिय सूचना आयोग लामो समयदेखि पदाधिकारीविहीन रहेकाले आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया छिट्टै सुरु गरिने जानकारी दिए।

महासङ्घका अध्यक्ष उमीद बागचन्दले देशभर सूचनाको हकसम्बन्धी गतिविधि सञ्चालन भइरहेको जानकारी दिँदै राष्ट्रिय सूचना आयोगमा शीघ्र पदाधिकारी नियुक्त गर्न सरकारसँग आग्रह गरे।

भेटमा महासङ्घका वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, उपाध्यक्ष दुर्गा तिवारी, महासचिव पूर्णप्रसाद मिश्र, केन्द्रीय सदस्य अभिमन्यु नेपाल, बागमती प्रदेश महासचिव भीम लामा, काठमाडौं जिल्ला अध्यक्ष विनोद बस्नेतलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्