चारै संस्करण जितेको भारतलाई हराउँदै इतिहास रच्ने दाउमा नेपाली टोली


 


विराटनगर, चैत ७

विराटनगरमा भैरहेको पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपको फाइनल खेल शुक्रबार हुँदैछ । विराटनगरको शहीद रंगशालामा दिउँसो तीन बजे पछि सुरु हुने खेलमा नेपाल र भारत आमने–सामने हुन लागेका हुन् । नेपालले सेमिफाइनलमा श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका छन् ।

नेपाल पाँच संस्करण मध्य चौथो पटक फाइनलमा पुगेको छ भने भारतले लगातार पाँचौं फाइनल खेलेको छ । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले पुरानै प्रतिद्वन्द्वी पाएको छ । यो नौलो कुरा होइन, दक्षिण एसियाली महिला फुटबलमा भारत र नेपाल शीर्ष दुई टिम हुन् । तर, साफ च्याम्पियनसिपमा नेपालमाथि भारतको दबदबा कायम छ ।

प्रतियोगिताको चार संस्करण सकिँदा भारत नै नेपालको सफलताको बाटोमा तगारो बन्दै आएको छ । तर, समय फेरिएको छ । अहिलेको प्रतियोगिता नेपाली मैदानमा हुँदैछ । नेपाली दर्शकका बीचमा । प्रशिक्षक हरि खड्का भन्छन्,‘यो हाम्रो गृहमैदान हो । हाम्रो मतृभूमि हो ।’ ‘हामी भारतको दबदबा तोड्नका लागि तयार छौं । अवश्य पनि हामी उपाधि उचाल्नेछौं । भोलिको दिन हाम्रो हुनेछ’, प्रशिक्षक खड्काले थपे ।

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्