ज्ञानेन्द्र र भारतीय राजदूतको भेटप्रति सरकार रुष्ट


 


काठमाडौं चैत ८
मधेश भ्रमणका बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भन्दै भारतीय राजदूत मन्जिभसिंह पुरीसँग स्पष्टिकरण सोध्ने विषयमा छलफल भएको छ । पूर्वराजा शाह मधेश भ्रमणका क्रममा जनकपुरधामको होटल सिताशरणमा रहेका बेला भारतीय रादजूत पुरी निर्मानाधिन रेलवेको अनुगमन गर्न जनकपुर पुगेका थिए । राजदूत पुरी पनि सोही होटलमा बसेका थिए ।

सुरक्षा संयन्त्रको हवाला दिदै पूर्वराजा शाह र राजदूत पुरीबीच भेट वार्ता भएको भन्दै विहीबारको मन्त्रिपरिषद् बैठकमा छलफल भउको छ । उक्त विषयमा छलफल गर्दै सरकारले राजदूत पुरीसँग स्पष्टिकरण सोध्ने तयारी गरेको जनाइएको छ । नाम खुलाउन नचाहने एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्रालयले पूर्वराजा शाह र राजदूत पुरीबीचको भेटबारे जानकारी गराएको थियो । त्यसपछि उक्त विषयमा छलफल भएको थियो । छलफलका क्रममा अधिकांश मन्त्रीहरुले स्पष्टिकरण सोधिनु पर्ने धारणा राखेका थिए ।

नागरिकका रुपमा पूर्व राजालाई संविधान अन्तर्गतबाहेक अन्य गतिबिधि गर्ने छुट नरहेको ठकर पनि मन्त्रिपरिषद्मा निकालिएको थियो । पूर्व राजासँग भारतीय राजदूतले सरकारलाई जानकारी नदिई भेटेको विषय गम्भीर भएको ठहर गर्दै भारत फेरि नेपालमा नियन्त्रित अस्थिरताको विजारोपण गर्न खोजेको कुरा उठेको थियो ।

फागुनको अन्तिम साता जनकपुरलाई मुकाम बनाएर पूर्व राजा शाहले सर्लाहीको दुर्गा मन्दिर, धनुषाको जानकी मन्दिर, उदयपुरको राधाकृष्ण मन्दिर र सप्तरीको छिन्नमस्ता मन्दिरको दर्शन गरेका थिए । धार्मिक भ्रमण भनिए पनि पूर्व राजाले मधेशको नाडी छामिएको बुझिएको छ । पूर्वराजाको भ्रमणका क्रममा ठूलो संख्यामा मधेशी समुदाय जम्मा भएका थिए भने राजा आउ देश बचाउ लगायतका नारा लागेको थियो ।

तर पूर्वराजा शाहको सचिवालयले भने भारतीय राजदूतसँग भेटघाट नभएको दाबी गरेका छन् । पूर्वराजाका प्रेस संयोजक फनी पाठकले पूर्वराजा शाह र भारतीय राजदूत पुरी एउटै होटलमा बस्नु संयोग मात्र भएको दाबी गरे ।

यसैबीच सरकारले पूर्वराजा ज्ञानेन्द्रका गतिबिधिमा समेत निगरानी बढाएको जनाइएको छ । संविधान विपरीत गणतन्त्र, संघीयता र धर्म निरपेक्षविरुद्ध खुलेआम गतिबिधि गर्ने र आफैं बिभिन्न ठाउँमा गएर उक्साहटपूर्ण अभिव्यक्ति दिने क्रम बढेको भन्दै निगरानी बढाइएको जनाइएको छ । हाल पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले सशस्त्र प्रहरीका डिएसपीको कमाण्डमा ५६ जना सुरक्षाकर्मी खटाएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्